विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको शैक्षिक सुधारका लागि सुझाव–पत्र बुझाएको छ ।
सोमबार परिषद् महेन्द्र मोरङ क्याम्पस इकाइ समितिले क्याम्पस प्रमुख डा. रामावतार शरणलाई सुझाव–पत्र बुझाएको हो । क्याम्पसको शैक्षिक, प्रशासनिक तथा वातावरणको समग्र सुधारका लागि निम्न माग तथा सुझावहरू क्याम्पस प्रमुखलाई बुझाएको क्याम्पस संयोजक सरोज यादवले जानकारी दिए ।
व्यवस्थापन, शिक्षा, विज्ञान, कला संकायमा आन्तरिक परीक्षा सञ्चालन गर्नुपर्ने, विद्यार्थीले भर्ने अध्ययन शुल्कको सदुपयोग गर्दै एउटा कक्षा कोठामा दुईवटा पंखा, प्रत्येक कक्षाकोठामा गुणस्तरीय प्रोजेक्टरको व्यवस्था, कक्षाकोठा तथा शौचालयको दैनिक रूपमा सरसफाई, पानी ट्याङ्गीको सरसफाई, शुद्ध पिउने पानी तथा क्याम्पस परिसरको नियमित सरसफाइ तथा व्यवस्थापन गर्नुपर्ने इकाई समितिले माग गरेको छ ।
त्यसैगरी छात्रवृत्ति वितरणमा भइरहेको दलीय भागवण्डा तथा नातावाद कृपावादको अन्त्य गर्दै स्वच्छ प्रतिस्पर्धाका आधारमा वैज्ञानिक मापदण्ड निर्माण गर्दै छात्रवृत्ति वितरण गर्नुपर्ने उल्लेख गरिएको छ ।
विज्ञान प्रयोगशाला प्रभावकारी बनाउन, विज्ञान प्रदर्शनी तथा आविष्कार केन्द्र जस्ता विषयमा क्याम्पस प्रशासनको ध्यान जानुपर्ने, भर्ना, रजिष्ट्रेसन, प्रमाणपत्र, लब्धाङपत्र प्राप्तिका लागि अनलाइन पद्धतिको विकास गर्दै छिटो र तुरून्त प्रशासनिक सेवा सुविधा उपलब्ध हुने नीति एवं वातावरण निर्माण गर्नुपर्ने, प्रत्येक वर्ष क्याम्पसको आयव्यय विवरण सरल भाषामा सार्वजनिक गर्नुपर्ने परिषद्को माग छ ।
फरक क्षमता भएका विद्यार्थीको पठनपाठनमा सहजताका लागि सोही अनुसारको भौतिक संरचना निर्माणका लागि पहल गर्न र फरक क्षमता भएका विद्यार्थीको पठनपाठनमा सहायताका लागि सहयता समिति तथा कोष निर्माण गर्नुपर्ने र सेनिटरी प्याडको उचित एवम् प्रभावकारी व्यवस्थापन गर्नुपर्ने परिषद् महेन्द्र मोरङ इकाई समितिको माग छ ।
View : 164
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved