विराटनगर । केही दिनयता परेको अविरल वर्षाका कारण कोशी प्रदेशका ६ वटा प्रमुख तथा सहायक सडक मार्ग अवरुद्ध भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पाँचथर, ताप्लेजुङ, उदयपुर, सोलुखुम्बु र खोटाङमा सडक अवरुद्ध भएका छन् । अवरुद्ध सडकको विकल्पमा अर्को सडक नभएको प्रहरीले जनाएको छ ।
पाँचथरको फालेलुङ–५ स्थित लुदिनटार मुवाखोलामा आएको बाढीले ह्यूमपाइप बगाउँदा फिदिम फालोट सडक साउन ४ देखि अवरुद्ध छ । सोही दिन पाँचथरकै मिक्लाजुङ–३ थामथुममा खसेको पहिरोले आरुबोटे–थामथुम–रबि सडक अवरुद्ध बनेको जनाइएको छ ।
ताप्लेजुङको फाक्तालुङ–६ रानीपुलस्थित तमोर नदीमा रहेको बेलिब्रिज साउन ६ को बाढीले बगाउँदा सदरमुकाम फुङ्लिङदेखि ओलाङ्चुङगोला सडक पूर्ण रुपमा अवरुद्ध बनेको प्रदेश प्रहरीले जनाएको छ ।
उदयपुरको त्रियुगा–६ मोहनपुरस्थित गेरुवा खोलाको कल्भर्ट शनिबारको बाढीले बगाउँदा जलजले–ककनी सडक अवरुद्ध भएको छ ।
शनिबार नै खोटाङको जन्तेढुंगा–६ चापखोरमा पहिरो जाँदा जन्तेढुंगा–बराहापोखरी सडक पूर्ण रुपमा अवरुद्ध भएको जनाइएको छ ।
त्यस्तै सोमबार सोलुखुम्बुको महाकुलुङ–१ देउरालीमा गएको पहिरोले सोताङ–महाकुलुङ सडक खण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
शनिबारदेखि कोशी प्रदेशका विभिन्न स्थानमा लगातार वर्षा भइरहेको छ । अधिकांश नदी खोलाको जलसतह बढेका कारण स्थानीय प्रशासनले सूचनामार्फत सतर्कताका लागि आग्रह गरेका छन् ।
प्रमुख खोला नदीको बहावले कोशी नदीको जलसतह निरन्तर बढेको कोशी ब्यारेज प्रशासनले जनाएको छ । कोशी बेसिनका नदीमा बाढी आउँदा कोशी ब्यारेजस्थित जल मापन केन्द्रमा पानीको बहाव खतराको तहमा पुगेको थियो ।
आइतबार अपरान्ह ४ बजे कोशी ब्यारेजमा १ लाख ८९ हजार ३९० क्यूसेक बहाव मापन भएको थियो ।
सोमबार विहान भने बहाव केही घटेर १ लाख ७५ हजार क्यूसेक रहेको जनाइएको छ । कोशीमा पानीको बहाव शनिबार साँझदेखि निरन्तर बढेको थियो ।
View : 315
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved