Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

घरेलु महासंघले मनायो ३५औं स्थापना दिवस

उद्घोष सम्वाददाता
२४ जेठ २०८१, बिहिवार

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघले ३५औं स्थापना दिवस भव्य कार्यक्रमका साथ मनाएको छ । बिहीबार विराटनगर–५ स्थित महासंघको सभाहलमा आयोजित कार्यक्रममा शुभकामना आदान–प्रदान गर्नुका साथै केक काटेर स्थापना दिवस मनाएको हो ।

२०४७ जेठ २४ मा स्थापित महासंघको स्थापना दिवस केन्द्रीय उपाध्यक्ष मुकेशकुमार उपाध्यायको उपस्थितिमा मनाइएको हो । उपाध्यायले स्थापना दिवसको शुभकामना दिंदै साना तथा घरेलु उद्योगहरूकै कारण मुलुकको आर्थिक गतिविधि हुँदै आएको बताए । सरकारले घरेलु उद्योगमा प्रविधि हस्तान्तरणको प्रयास गर्नुपर्ने र त्यसका लागि बजेट समेत विनियोजन गर्न आग्रह गरे ।

महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले साना उद्यमीको हकहितका लागि स्थापना भएको महासंघले ३५ वर्ष पूरा गरेको भन्दै त्यसमा योगदान पुर्‍याउने अग्रजहरूलाई धन्यवाद दिए ।

महासंघलाई चाहिने कोसेली घर तथा प्रदर्शनीस्थलका लागि भवन बनाइदिने कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको आश्वासन पाएको उनले बताए । त्यसका लागि विराटनगर महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सन्तोष न्यौपानेसँग जग्गाको व्यवस्थापन गरिदिन आग्रह गरिएको उनले बताए । निरौलाले प्रदेश सरकारले लघु, घरेलु र साना उद्योगको प्रवर्द्धनका लागि नयाँ कार्यक्रम ल्याउन समन्वय गरिरहेको बताए ।

संघले आफ्ना नियमित गतिविधि अघि बढाउनुका साथै ३५ जना थप आजीवन सदस्यहरु संघमा आवद्ध भएको निरौलाले बताए । उद्योग, सहकारी तथा कृषि मन्त्रालयका अधिकृत शम्भु साहले मन्त्रालयले घरेलु उद्योगहरूलाई हरेक वर्ष प्रवर्द्धनका कार्यक्रम अघि सारिरहेको बताए । उनले ३५ वर्ष पुगिसकेको घरेलु महासंघलाई आगामी दिनमा विशिष्टिकृत रूममा अगाडि बढाउनुपर्ने सुझाव दिए ।

विराटनगर–५ का वडाध्यक्ष सन्तोष न्यौपानेले महासंघलाई आवश्यक जग्गा उपलब्ध गराउन आफूले कुनै पनि कसर नछाड्ने बताए । अहिले पनि आफूले महासंघको लागि जग्गा खोज्ने काममा सहयोग गरिरहेको उनले बताए ।

कार्यक्रममा महासंघको कोशी प्रदेश अध्यक्ष अञ्जु उपाध्याय, उद्योगी अरुणकुमार राठी, महासंघ महिला समितिकी अध्यक्ष अम्बिका भण्डारी, महासंघका संस्थापक अध्यक्ष लवमणि राजभण्डारी, उद्योगी जुगलकिशोर राठी र उद्योग, कृषि तथा सहकारी मन्त्रालयकी शाखा अधिकृत सुशीला श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

View : 144

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved