विराटनगर । नेपाली कांग्रेसमा लामो समयदेखि संस्थापनइतर पक्षको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइराला अन्ततः निर्णायक घडीमा संस्थापन समूहतिरै उभिएका छन् । पुसभित्रै नियमित महाधिवेशन नभए विशेष महाधिवेशन अनिवार्य हुन्छ भन्दै आएका कोइराला आफ्नै पूर्व अडान विपरित संस्थापन पक्षको निर्णयमा साथ दिने ठाउँमा पुगेका हुन् ।
जेनजी आन्दोलनपछि कांग्रेसमा रूपान्तरण र परिवर्तनको मुद्दा बलशाली रूपमा उठिरहँदा कोइरालाले भने सभापति शेरबहादुर देउवालाई साथ दिएका छन् ।
कांग्रेसका नेताहरूले सभापति बन्ने लोभमा कोइरालाले देउवासामु आत्मसमर्पण गरेको टिप्पणी गरेका छन् ।
‘शेखर कोइरालाले सभापति बन्न पाइन्छ कि भन्ने लोभमा देउवासामु आत्मसमर्पण गर्नुभयो’, कांग्रेस उदयपुरका सभापति हिमाल कार्कीले भने ‘व्यक्तिगत स्वार्थका लागि देशभरका बहुमत कार्यकर्ताको विपक्षमा उभिने उहाँको कदमले हामी अचम्मित छौं ।’
जेनजी आन्दोलनपछि देशभरका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले पार्टी नीति र नेतृत्वको रूपान्तरणका लागि भन्दै विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाएका थिए ।
सो कदमलाई शेखरले पनि साथ दिएका थिए । यद्यपि मोरङका उनका पक्षका बहुसंख्यक महाधिवेशन प्रतिनिधिले भने हस्ताक्षर गरेका थिएनन् ।
४० प्रतिशतले मात्रै माग गर्दा पनि अनिवार्य रूपमा विशेष महाधिवेशन गर्नुपर्ने कांग्रेसमा ५४ प्रतिशतको हस्ताक्षरले तरंग सिर्जना गर्यो ।
महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माको दबाबमा पुसभित्रै नियमित महाधिवेशन गर्ने कार्यतालिका ल्याएपनि कांग्रेसका ‘सात भाइ’ र देउवाले महाधिवेशन पर धकेल्न प्रयास गरिरहे ।
त्यसबेलासम्म पुसभित्रै नियमित नभए विशेष महाधिवेशन अनिवार्य भन्दै आएका शेखर शुक्रबारको कार्यसम्पादन समिति बैठकमा आइपुग्दा शेखरले संस्थापनको बोलीमै आफ्नो स्वर पनि मिसाएका छन् ।
त्यो बैठकले नियमित महाधिवेशन बैशाखमा सारेर विशेष महाधिवेशनबारे केही निर्णय नै गरेन । त्यसमा शेखरले ‘बहुमतको निर्णय’ भन्दै देउवालाई खुला साथ दिएका छन् ।
पार्टी बैठकमा संस्थापन समूहलाई खुला साथ दिए पनि उनले विशेष महाधिवेशन पक्षधरहरूलाई आश्वासन दिने काम भने जारी राखेका छन् ।
शनिबार काठमाडौंमा आफू पक्षीय नेता कार्यकर्ताको भेलामा उनले त्यही आश्वासन दिए ।
‘विशेष महाधिवेशनको भावनासँग म सहमत छु । हस्ताक्षरकर्ताहरूको भावनासँग मेरो भावना जोडिएको छ । तर, केन्द्रीय कार्यसम्पादन समितिमा जुन बहुमतको निर्णय छ, त्यो मान्न बाध्य छौं’ कोइरालाले भने ‘निर्णयमा विद्रोह गरेर जान सकिएन । निर्णय प्रक्रियामा बहुमतको निर्णय त मान्नै पर्यो ।’
उनको यो तर्क लाचारीको पराकाष्ठा भएको उदयपुर सभापति कार्कीको भनाइ छ ।
‘देशभरीका बहुमत महाधिवेशन प्रतिनिधिको वैधानिक मागका पक्षमा उभिन नसक्ने, केन्द्रीय समितिको बहुमतको निर्णय चाहिं लाचार भएर मान्ने ?’, कांग्रेस कोशी संसदीय दलका उपनेतासमेत रहेका कार्कीको भनाइ छ ‘देशभरका कार्यकर्ताले भनेको मान्दिनँ, शक्तिमा रहेकाहरूले जे भने पनि मान्छु भन्ने शैली कोइरालाले देखाउनुभयो । यो जम्माजम्मी सभापति बन्न पाइन्छ कि भन्ने लोभ मात्रै हो ।’
कोइराला १४ औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित भएलगत्तैदेखि १५ औं महाधिवेशनमा पनि सभापतिमै उठ्ने तयारी गर्दै देश दौडाहामा जुटेका थिए । त्यसक्रममा उनले देउवाको हरेक कदमको विरोध गर्दै आएका थिए ।
नेता कोइरालाले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका नेता–कार्यकर्ताहरूको भावना सम्बोधनका लागि केन्द्रीय कार्यसमितिलाई ‘कन्भिन्स’ गराउन खोजे पनि सफल हुन नसकेको पनि बताए ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले शुक्रबार बहुमतबाट १५ औं महाधिवेशनको नयाँ कार्यतालिका पारित गरेको थियो ।
उक्त निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगै अन्य तीन जना नेताहरूले फरक मत राखेका थिए ।
हस्ताक्षर संकलन अभियानमा संलग्न नेताहरूले कोइरालालाई विशेष महाधिवेशनको अपनत्व लिन आग्रह गरेका थिए ।
उनीहरूले नेता कोइरालालाई पार्टीको शीर्ष नेतृत्व र महामन्त्रीहरूका बीचमा सहमतिका लागि पहल गर्न पनि आग्रह गरेका थिए । तर, कोइरालाले भने आफू बाध्य भएको मात्रै बताएका थिए ।
View : 175
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved