विराटनगर । अग्रज पत्रकार नरेन्द्र प्रसाद अर्याल (उपाध्याय) को निधन भएको छ । उनको संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा शनिबार निधन भएको हो । ७६ वर्षीय पत्रकार आफ्नो छोरा भेट्न संयुक्त राज्य अमेरिका गएका थिए ।
स्वर्गीय अर्यालको जन्म वि.सं. २००५ साल असोज २२ गते सप्तरीको बैरवामा भएको हो । त्यहाँबाट उनको परिवार विराटनगरमा आएको हो ।
उनले माध्यमिक शिक्षा विराटनगरको आदर्श विद्यालयबाट पूरा गरेका हुन् । आईएस्सी विराटनगरको महेन्द्र मोरङ कलेजबाट उत्तीर्ण गरेका उनले बीएस्सी काठमाडौंको अमृत साइन्स कलेजबाट पूरा गरेका थिए ।
केही समय शिक्षण पेशामा रहेर पछि पत्रकारिता शुरु गरेका थिए । पछिल्लो समयमा लामो समयदेखि उनी काठमाडौं बस्दै आइरहेका थिए ।
ज्योति साप्ताहिकबाट पत्रकारितामा प्रवेश गरेका अर्यालले ‘द टेलिग्राफ’ नामक अंग्रेजी भाषाको साप्ताहिक पत्रिका प्रकाशित गर्दै आएका थिए । केही वर्ष यतादेखि भने उनले विभिन्न पत्रपत्रिकामा स्तम्भहरू लेख्दै आएका थिए । नेपाली पत्रकारितामा उनको पाँच दशक भन्दा लामो इतिहास छ ।
उनी काठमाडौं बस्दै आए पनि उनको विराटनगरमा पनि बसोबास रहँदै आएको थियो । उनका भतिजा डा. मनिष अर्यालका अनुसार केही वर्ष यता उनी मृगौलाको समस्याबाट पीडित थिए ।
View : 140
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved