Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

मनमोहनमा एलएलएमका  विद्यार्थीलाई पुरस्कार र स्वागत

उद्‌घोष संवाददाता
८ चैत २०८२, आइतवार

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ एलएलएमका पुराना विद्यार्थीहरुलाई पुरस्कृत गर्दै नयाँ विद्यार्थीहरुलाई अभिमुखीकरणसहित स्वागत गरेको छ । 

विश्वविद्यालयको ‘मनमोहन इन्स्टिच्युट अफ ल’ ले शनिवार अपराध शास्त्र एलएलएम पहिलो समूहका उत्कृष्ट विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गर्दै नयाँ विद्यार्थीलाई स्वागत गरेको हो । 

शनिवार आयोजित कार्यक्रममा बोल्दै विश्वविद्यालयको ‘स्कुल अफ एप्लाइड  साइन्स टेक्नोलोजी अफ ल’ का डिन डा. रेखा श्रेष्ठले पाठयक्रम अनुसार गुणस्तरीय पढाइ र समयमै परीक्षा र परीक्षाफल प्रकाशनका लागि  विश्वविद्यालयले कुनै सम्झौता नगर्ने बताइन् । उनले कानुनमा विशेषज्ञता हासिल गर्ने विद्यार्थीहरुलाई उत्तीर्ण हुनका लागि मात्र नभएर अनुसन्धानमा पनि जोड दिन आग्रह गरिन् । 

मनमोहन इन्स्टिच्युट अफ लका प्राचार्य कोषराज न्यौपानेले गुणस्तरीय पढाइमा जोड दिएकै कारण पहिलो र दोस्रो चरणमै कानुन पढ्ने विद्यार्थीहरुको आकर्षण उच्च भएको बताए । 

उनले मनमोहनले कानुनमा दक्ष जनशक्ति उत्पादन गर्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुसँग पनि सहकार्य गरिरहेको जानकारी दिए । 

प्राचार्य न्यौपानेका अनुसार विश्वविद्यालयले केही वर्षभित्रै कानुनमा विद्यावारिधि तहको पठनपाठन सञ्चालन गराउने योजना बनाएको छ ।

कलेजका शिक्षक तथा अपराधशास्त्री केशवराज पन्तले मनमोहनमा कानुनमा एलएलएम अध्ययन गर्ने पहिलो समूहका विद्यार्थीहरुको पढाइको गुणस्तर आफूले सोचेभन्दा राम्रो पाएको बताए ।

विश्वविद्यालयका परीक्षाविज्ञ इञ्जिनियर युवराज चौधरीले परीक्षालाई मर्यादित बनाएर समयमै परीक्षाफल प्रकाशन गर्ने लक्ष्यमा विश्वविद्यालय सधै प्रतिवद्ध रहने बताए । 

पहिलो सेमेष्टरका विद्यार्थीहरु रामसुफल सदा र राजेश तिम्सिनाले मनमोहन विश्वविद्यालयको पढाइसँगै परीक्षा प्रणालीको प्रशंसा गरे । कार्यक्रममा अपराध कानुनमा एलएलएममा भर्ना भएका तीस जना विद्यार्थीहरुलाई स्वागत गर्दै विश्वविद्यालयको शैक्षिक कार्यक्रम, परीक्षा र व्यवस्थापन प्रणालीबारे अभिमुखीकरण गराइएको थियो । 

त्यसैगरी एलएलएम पहिलो समूहको प्रथम सेमेष्टरमा प्रथम हुने रामसुफल सदा, दोस्रो हुने लवराज घिमिरे र तेस्रो हुने राजेश तिम्सिनालाई विश्वविद्यालयको तर्फबाट जनही ४८ हजार र जेहेन्दार विद्यार्थी सञ्जयकुमार यादवलाई कलेजका प्राचार्यको तर्फबाट नगद ११ हजार नगदसहित पुरस्कृत गरिएको थियो । 

कोशी प्रदेश सरकारले स्थापना गरेको मनोहन प्राविधिक विश्वविद्यालयको ‘स्कुल अफ एप्लाइड साइन्स, टेक्नोलोजी अफ ल’ अन्तर्गतको मनमोहन इन्स्टिच्युट अफ लले व्यवस्थापन कानुनमा स्नातक र अपराध कानुनमा स्नातकोत्तर तहको पढाइ सञ्चालन गर्दै आएको छ ।

View : 69

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved