Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

हाजिरीजवाफमा ८ विद्यालय विजयी

उद्घोष सम्वाददाता
१६ फागुन २०८०, बुधवार

विराटनगर । बाल मन्दिर आधारभूत विद्यालय विराटनगर र विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाको संयुक्त आयोजनामा मंगलबार भएको हाजिरीजवाफ प्रतियोगितामा आठ विद्यालय विजयी भइ अन्तिम प्रतियोगिताका लागि छनोट भएका छन् । 

यसरी छनोट हुनेमा आदर्श मावि, सत्यनारायण मावि, मदननगर आवि, गोग्राहा मावि, महेन्द्र मावि, बाल मावि रानी, महामाया आवि विराटनगर–१६ र आयोजक  बालमन्दिर आधारभूत विद्यालय छन् ।

आइतबार विराटनगर महानगरका मेयर नागेश कोइरालाद्वारा उद्घाटन गरी सुरु भएको हाजिरीजवाफमा २४ विद्यालय दोस्रो चरणमा प्रवेश गरेका थिए ।

महानगरका ४७ विद्यालयका कक्षा ५ सम्मका विद्यार्थी सहभागी सो प्रतियोगिताको दोस्रो दिन १२ विद्यालय तेस्रो चरणमा प्रवेश गरेका थिए । अन्तिम प्रतियोगिता शुक्रबार राखिएको विद्यालयका प्रधानाध्यापक नेत्र पराजुलीले बताए । 

बाल मन्दिर आधारभूत विद्यालयले २०६४ सालदेखि नगरका विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता गराउँदै आए पनि  केही मावि मात्र सहभागी हुँदै आएका थिए ।

यस वर्षदेखि भने विराटनगर महानगरको सहकार्यमा नगरका सबै विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीबीच हाजिरीजवाफ प्रतियोगिता सुरु गरिएको बाल मन्दिर आधारभूत विद्यालय प्रधानाध्यापक नेत्र पराजुलीले बताए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन निरौलाका अनुसार अन्तिम चरणका प्रतियोगितामा विजयी विद्यार्थीका लागि आइतबार एक कार्यक्रम गरी पुरस्कार वितरण कार्यक्रम तय गरिएको छ ।

गत वर्ष सो विद्यालयले गरेको हाजिरीजवाफ प्रतियोगितामा महामाया, गोग्राहा, बालमन्दिर र भानुमोरङ  आवि क्रमशः प्रथम, द्वितीय, तृतीय र चौथो भइ पुरस्कृत भएका थिए ।

View : 305

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved