Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

सिन्का बेचेर जीवन निर्वाह गर्दै ७९ वर्षीय धनबहादुर

उद्‌घोष सम्वाददाता
१५ भदौ २०८१, शनिवार

टक्सार , १५ भदौ । इच्छाशक्ति भएमा उमेरले नछेक्ने उदाहरण बनेका छन्– भोजपुर नगरपालिका–११ आम्तेकका धनबहादुर राई ।

उमेरले ७९ वर्ष पुगेका राई बाँसको सिन्का बनाएर भोजपुर बजारसम्म बिक्रीका लागि ल्याउने गर्छन् ।

धनबहादुरमात्र होइन, उनका दालु रणबहादुरले पनि पहिला बाँसबाट सिन्का बनाएर बिक्री गर्दै आइरहेका थिए ।

धनबहादुरले भने, “विगतमा  १० देखि २० मुठाका दरले सिन्का बेच्ने गरेको थिएँ, अहिले भने एक सय २० सम्ममा बिक्री गर्दै आइरहेको छु ।”

सिन्का बनाउन धेरै समय र मेहनत लाग्ने गरेको उनले बताए। उनले भने, “असी वर्ष पुग्न लाग्दा पनि पुरानो पेशा गरिरहेको छु, बजारमा ल्याएको सिन्का सबैले किन्ने गरेका छन् ।

धैरेले त तराईतिर लान पनि ल्याइदिनु है बाजे पनि भन्छन् ।” 

आफ्नै घर नजिकै बाँसको झ्याङ रहेको र अन्यकोबाट किन्नु नपर्ने भएकाले पनि आफूहरू सानैदेखि नै यो पेशामा लागेको धनबहादुर सुनाउछन् ।

उनी भन्छन् “अहिले त खाली युवाहरु विदेश जान तम्सिन्छन् तर, जोशजाँगर भए त गाउँघरमै पनि त्यत्तिकै त बस्नु पर्दैन।  ”  

घरबाट १६ मुठा सिन्का लिएर बिक्रीका लागि सदरमुकाम आएका उनले केही समयमा नै ती सिन्का बिक्री गरिसकेको बताए।

उनले ती सिन्का बिक्रीबाट  एक हजार पाँच सयमाथि कमाएको बताए ।

सिन्का बिक्रीबाट राईले घरका लागि नुन, तेल किन्न सहजता भएको बताए ।

यस्तो काममा अहिलेका युवाले चासो नदेखाउँदा अबका दिनमा सिन्का पाउन मुस्किल हुने उनको भनाइ छ ।

उनी भन्छन्, “अहिलेसम्म त भनेकाहरूलाई मैले सिन्का ल्याइदिएको छु, अब मैले छाडेपछि समस्या हुन्छ, त्यसपछि धार्मिक कार्यमा प्रयोग हुने दुनाटपरी कसरी बनाउने ।” रासस

View : 85

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved