विराटनगर । मोरङको रंगेली–१ बबियाबिर्तामा आयोजना गरिएको बृहत स्वास्थ्य शिविरबाट साढे ७ सय बढी विरामीले सेवा लिएका छन् । नेपाल क्षयरोग निवारण संस्था मोरङको मुख्य आयोजना तथा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरूको सहयोगमा शिविर आयोजना भएको हो ।
बबियाबिर्तास्थित जनप्रिय माध्यमिक विद्यालय परिसरमा आयोजना गरिएको शिविरमा ७ सय ७४ जनाले स्वास्थ्य सेवा लिएको नेपाल क्षयरोग निवारण संस्था मोरङका सभापति शिवनारायण प्रधानले जानकारी दिए ।
शिविरमा न्यूरो अस्पताल र रामलाल गोल्छा आँखा अस्पतालले चिकित्सकीय सेवा उपलब्ध गराएको छ । शिविरमा आएका आँखाका विरामीमध्ये ६२ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ । उनीहरूलाई गोल्छा आँखा अस्पतालसँगको समन्वयमा शल्यक्रिया गराइने आयोजकले जानकारी दिएका छन् ।
शिविरमा गणेशमानसिंह फाउण्डेसन मोरङ, लायन्स क्लब अफ विराटनगर, लायन्स क्लब अफ विराटनगर एक्टिभ, झी पुच, तोरेन्द्रमान सिंह फाउण्डेसन, रंगेली नगरपालिका र सगरदिना कृषि सहकारी संस्था लिमिटेडले सहयोग गरेको थियो ।
प्रदेशसभा सदस्य अमृत अर्यालले उद्घाटन गरेको शिविरमा क्षयरोग जाँच सेवाका साथै, हाडजोर्नी सेवा, फिजिसियन सेवा, ग्यास्ट्रोलोजीलगायतका १७ प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराइएको जनाइएको छ ।
View : 33
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved