Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

बुद्ध एयर सञ्चालक वीरेन्द्र र शिवेन्द्रबीच बढ्यो झगडा

ज्यान मार्ने धम्की आएको भन्दै शिवेन्द्रविरुद्ध मुद्दा, प्रशासनले दियो वीरेन्द्रलाई विशेष सुरक्षा
उद्घोष सम्वाददाता
१३ कार्तिक २०८१, मङ्गलवार

विराटनगर । यति बेला निजी क्षेत्रको वायु सेवा कम्पनी बुद्ध एयरका सञ्चाकद्वय वीरेन्द्रबहादुर बस्नेत र शिवेन्द्रबहादुर बस्नेतका बीच बढेको झगडाले प्रहरी प्रशासनलाई समेत समस्या भएको छ ।

बुद्ध एयरका सञ्चालक बस्नेतद्वय स्वर्गीय सुरेन्द्र बहादुर बस्नेतका छोराहरू हुन् । यी दुई सहोदर दाजु भाइका बीचमा बुद्ध एयरको आम्दानी तथा हरहिसाबलाई लिएर झगडा चलिरहेको छ । झगडाले गम्भीर रूप लिंदै गएको छ ।

बुद्ध एयरका अध्यक्ष दाजु वीरेन्द्रबहादुर बस्नेत हुन् भने उनी ६० प्रतिशत शेयरका मालिक हुन् । शुरूमा शिवेन्द्रको २३ प्रतिशत शेयर रहेकोमा बाबुको शेषपछि उनको नाममा १७ प्रतिशत शेयर थपिएर ४० प्रतिशत भएको थियो । ४० प्रतिशत शेयरका धनी शिवेन्द्रले २०७५ सालमै आफ्नो हिसाब मागेका थिए ।

कम्पनी ऐनको दफा १४६ अनुसार शेयर सदस्यले कम्पनीको हरहिसाब र आफ्नो शेयरको बारेमा जानकारी मागेको १५ दिन भित्रमा कम्पनीले हिसाब दिनुपर्छ ।

अध्यक्ष वीरेन्द्रले हरहिसाब दिन नमानेपछि भाइ शिवेन्द्रले न्यायका लागि अदालतको शरण लिनु परेको छ । पाटन जिल्ला अदालतबाट शिवेन्द्रले मुद्दा जितेपछि अहिले सो मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ ।

शेयर नदिने नियत गरेर वीरेन्द्रले भाइका विरूद्धमा ज्यान मार्ने धम्की दिएको भन्दै स्थानीय प्रशासन र उच्च अदालत विराटनगरमा पनि मुद्दा दिएका छन् । मुद्दालाई आफ्नो पक्षमा पार्न अनेकौं तिकडममा लागेका वीरेन्द्रले भाइले गोली हान्छु भन्दै ज्यानै मार्ने धम्की दिएको झुटो आरोपमा उनी विरूद्धमा मुद्दा हालेका हुन् ।

गत बिहीबार गुपचुप रूपमा विराटनगर आएका वीरेन्द्र उनको कृषि फार्म मोरङको डाँगीहाट पुगेका थिए । उनलाई दुई दिनसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडा सुरक्षा दिएका थिए । 

उनको सुरक्षामा मोरङ प्रशासनले सुटुक्क प्रहरी खटाएको थियो । उनी त्यहाँ बसुञ्जेल दुई दिनसम्म डाँगीहाटका वासिन्दाले कफ्र्यूको जस्तै अनुभव गरेका थिए ।

स्थानीय प्रशासनका अनुसार शान्ति सुरक्षाको निवेदन दाजुभाइ दुवैले दिएका छन् । तर वीरेन्द्रको हकमा भने देशको अति विशिष्ट नागरिकलाई जस्तो सुरक्षा दिइएको हो । भाइ शिवेन्द्रले भने आफूले त्यस्तो धम्की नदिएको जिकिर गर्दै आइरहेका छन् ।

शिवेन्द्र आफैं पाइलट हुन् र बुद्ध एयरको शुभारम्भ उनैले गरेका हुन् । पछि उनले माउन्टेन एयर चलाए । त्यसपछि अमेरिका गएका शिवेन्द्रले लामो समयपछि नेपाल आएर आफ्नो हिस्साको शेयरको हिसाब खोजेका थिए । 

भाइलाई शेयर नदिन दाजु वीरेन्द्रले अनेकौं तिकडम गरिरहेका छन् । ज्यान मार्ने धम्की विरूद्धको मुद्दा तिनै तिकडमहरू मध्येकै एउटा कडी हो ।

View : 179

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved