विराटनगर । पाँचथरको फालेलुङ गाउँपालिका–५ डाँडागाउँस्थित एकजना माओवादी कार्यकर्ता आइतराज केरुङको घरमा बिहीबार भएको ‘होम ग्रिनेड’ विस्फोटमा परी दुई बालबालिकाको ज्यान गएको छ । घाइते भएका तीन बालबालिकामध्ये एक जनाको अवस्था भने सामान्य रहेको जनाइएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार घटनामा ११ वर्षीय दिप्सन साँवा र अढाई वर्षीया प्रिन्सा साँवाको मृत्यु भएको छ । मृत्यु भएका बालबालिका दाजु बहिनी हुन् ।
केरुङको घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन राई भने खतरामुक्त रहेको जनाइएको छ ।
घाइतेमध्ये प्रिन्साको उपचारका लागि झापास्थित बी एन्ड सी अस्पताल लैजाने क्रममा इलाम पुगेपछि गएराति नै मृत्यु भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले बताए ।
गम्भीर घाइते भएका दिप्सनको भने बी एन्ड सी मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार विहान मृत्यु भएको जनाइएको छ । उनी शरीरका अधिकांश भाग जलेर र छर्राको चोटपटक लागेको गम्भीर बनेका थिए ।
बिहीबार अपरान्ह ३ बजेतिर केरुङको घरमा ठूलो विस्फोट भएको थियो । विस्फोटबाट अर्का बालक पवनको शरीरमा छर्रा लागेर एक दर्जन बढी चोटपटक लागेको जनाइएको छ । उनी भने खतरामुक्त रहेको भन्दै पाँचथर जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।
मृत्यु भएका दिप्सन स्थानीय कालिका मावि प्राङवुङमा कक्षा ६ मा अध्ययनरत थिए । घाइते भएका पवन पनि सोही विद्यालयको ४ कक्षामा पढ्छन् ।
खेलिरहेका बेला घरको छानामुनिबाट डल्लो झरेपछि त्यसलाई खेलाउने क्रममा विस्फोट भएको जनाइएको छ ।
उक्त वस्तु होम ग्रिनेड भएको हुनसक्ने प्रजिअ कोइरालाले बताए । विस्फोट भएको घरनजिकै अरु शंकास्पद वस्तु पनि भेटिएकाले नेपाली सेनाको बम डिस्पोजल टोली आज विहान ४ बजे नै घटनास्थलतर्फ हिँडेको उनले जानकारी दिए ।
'विस्फोटबाट हेर्दा सामान्य घाइते देखिएकी बालिकाकै मृत्यु भएको छ,’ प्रजिअ कोइरालाले भने, ‘विस्फोट भएको वस्तु होम मेड ग्रिनेड जस्तो देखिएको छ । अरु शंकास्पद वस्तु पनि भेटिएकाले प्रहरीले त्यहाँ रेकी गरेको छ, अहिले बिहानै ४ बजे सेनाको टोली हिँडेको छ ।’
घटनास्थल सदरमुकाम फिदिमदेखि ४२ किलोमिटर टाढा रहेको जनाइएको छ । माओवादी कार्यकर्ता केरुङ भने २०६८ सालदेखि नै उक्त घर छाडेर सदरमुकाम बस्दै आएका थिए । उक्त घरमा स्थानीय ज्ञानबहादुर राईको परिवार बस्दै आएको थियो ।
केरुङको उक्त घर द्वन्द्वकालमा माओवादीको सेल्टरको रुपमा प्रयोग हुने गरेको जनाइएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रूपेश तामाङको कमान्डमा प्रहरी टोलीले अनुसन्धान गरिरहेको जनाइएको छ ।
View : 140
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved