विराटनगर । प्राकृतिक विपतिका कारण दुई दिनमा कोशी प्रदेशका विभिन्न जिल्लामा कम्तिमा ७ जनाको मृत्यु भएको छ भने दुई जना वेपत्ता भएका कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा परि दुई जना घाइते भएका छन् ।
ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका–५ थुम्कीमा पहिरोले घर पुरिंदा एक महिलाको मृत्यु भएको छ । बुधबार बिहान परेको अबिरल बर्षाको कारण स्थानीय बाबुराम खत्रीको ढुङ्गा माटोले बनेको घर र गोठ पहिरोले पुर्दा घरभित्र बसेकी ३५ बर्षीया देवकुमारी खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पहिरोले ३९ बर्षीय बाबुराम खत्री, उनकी श्रीमती ३५ बर्षीया देवकुमारी खत्री र १८ बर्षीया छोरी मेनुका खत्रीलाई पुरेको थियो । तत्काल प्रहरी चौकी सेर्नाबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा बाबुराम खत्री र छोरी मेनुकालाई सकुशल उद्धार गरेको थियो । देवकुमारी खत्रीलाई पहिरोले पुरी मृत अवस्थमा भेटिएको थियो ।
घाइते दुवै जनालाई उद्धार गरी उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाइएको बताइएको छ । चिसंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माका अनुसार प्रतिनिधिसभाका सांसद रामहरि खतिवडा, प्रमुख जिल्ला अधिकारी डा नारायण ढकाल, दुर्गा बक्स गणका गणपति विजयप्रकाश आंदम्बेको पहलमा घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं पठाइएको जानकारी दिएका छन् ।
यसैगरी झापाको मेचीनगर नगरपालिका–१४ स्थित फूलबासा खोलाले बगाएर १ जना बालकको मृत्यु भएको छ । मंगलबार साझ मेचीनगर–१४ का बामरा सतारका डेढ बर्षीय छोरा रिहान सतार घर नजिकै रहेको फुलवासा खोलामा डुबेर मृत्यु भएको हो ।
त्यसैगरी मोरङको सुन्दरहरैंचा नगरपालिका–५ स्थित बुढीखोलामा माछा मार्ने क्रममा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा सुन्दरहरैचा–५ की २२ बर्षीया प्रेमकला चौधरी छन् ।
मंगलबार दिउँसो स्थानीय ६० बर्षीया असरादेवी चौधरी, ३० बर्षीया फुला चौधरी, २२ बर्षीया स्वस्तिका चौधरी र २२ बर्षीया प्रेमकला चौधरीलाइ माछा मार्ने क्रममा बुढी खोलाले बगाएको थियो ।
इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले खोज तलास गर्दा प्रेमकला चौधरीलाई खोला किनारमा मृत अवस्थामा फेला पारेको हो । स्वस्तिका चौधरीलाई सकुशल उद्धार गरिएको छ । बेपत्ता भएका असरादेवी चौधरी र फुला चौधरीको स्थानीय प्रहरीद्वारा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै मोरङको केराबारी गाउँपालिका–४ स्थित गोगुने खोलामा आएको बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ । मंगलबार केराबारी–४ का चिक्रबहादुर राईको ११ बर्षीय छोरा श्याम राई साथीहरूसँग स्कुल जाने त्रममा गोगुने खोलामा आएको बाढीले बगाई मृत अवस्थामा फेला परेका थिए ।
उनीसँगै विद्यालय जाँदैगरेका १४ बर्षीय भरत राई, १३ बर्षीय अनुप राना, १२ बर्षीय प्रविन राई र १२ बर्षीय अर्पण लिम्बू समेतलाई खोलाले बगाउँदै गरेको अवस्थामा स्थानीय र प्रहरीको सहयोगमा सकुशल उद्वार गरी आफन्तलाई जिम्मा लगाइएको थियो ।
View : 128
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved