Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

कटहरी खानेपानी : बोरिङबाट सिधै उपभोक्तालाई

उद्‌घोष सम्वाददाता
२४ साउन २०८१, बिहिवार

कटहरी–२ आदर्शनगरमा पानी अपुग भएकाले नयाँ र ठूलो आकारको लाइन बिस्तार गर्न बुधबार पाइप जडान गर्दै कामदार । तस्वीर : कमल/उद्घोष

विराटनगर । मोरङको कटहरी खानेपानी आयोजनाले बोरिङले तानेको पानी सिधै उपभोक्ताको भान्सामा पठाउने गरेको छ । उपचार नगरी पठाइएको पानीको जोखिममा अहिले एक हजार छ सय परिवार छन् ।

जो जोखिम हुलाकी राजमार्ग बिस्तारले भएको हो । सडक बिस्तारका क्रममा पाइप फुटेर बगेको पानी पुनः पाइपले नै तान्ने भएकाले दुषित पानी भान्सामा पुग्ने सम्भावना देखिएको छ ।

कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी हुलाकी सडक निर्माण सकिएपछि भनें शुद्ध पानी उपभोक्ताका घरमा पुग्ने बताउँछन् । सडक बिस्तारका क्रममा पाइप फुटेर पानी बग्ने र जम्ने गरेको छ ।

कटहरी खानेपानी आयोजनाका निवर्तमान सचिवसमेत रहेका चौधरीले पानी शुद्ध रहेकाले प्रशोधन (ट्रिटमेन्ट) प्लान्ट समेत जडान नभएको बताए । कटहरी खानेपानी आयोजनालाई खानेपानी डिभिजन कार्यालयले पानी शुद्ध भएकै कारण प्रशोधन प्लान्ट जडान नगरेको उनले बताए । पानी शुद्धता र बढी उपभोक्तासम्म सेवा बिस्तार गर्न आफू पालिका प्रमुख भएपछि धेरै पाइप खरिद गरिएको उनको भनाइ छ ।

पालिका प्रमुख भएपछि सचिव पदबाट राजिनामा दिएका चौधरीपछि सो पदमा अर्को सचिव आएका छैनन् । उनले अप्रत्यक्ष रुपमा खानेपानीको सञ्चालक सरह काम गर्दै आएका छन् ।

आयोजनाले कटहरीका सात वडा मध्ये १ देखि ४ सम्म एक हजार ६ सय २५ उपभोक्तालाई पानी उपलब्ध गराउँदै आएको छ । २ नम्बर वडाको आदर्शनगरमा बढी जनघनत्व भएकाले पानीको माग बढी छ ।

तीन तलाको घरमा पानी नचढेकाले पानीको नयाँ पाइप आदर्शनगरमा बिस्तार थालिएको छ । ९० मिलिमिटरको पाइपले पानीको माग पूरा नभएकाले १६० मिलिमिटरको पाइप बिस्तार थालिएको छ । आयोजनाका अध्यक्ष एवं पूर्व सांसद विद्यानन्द चौधरी कटहरी खानेपानीले बेलाबेलामा पानी परीक्षण गर्दै आएको छ । पानीमा खराब तत्व पाइएको छैन ।

आयोजनालाई थप २ सय परिवारलाई पानी तत्काल उपलब्ध गराउनु पर्ने माग छ । उपभोक्ताको माग अनुसार सेवा दिन केही वर्ष लाग्ने उनले बताए । बाक्लो बस्ती भएको ठाउँमा पानीको पाइप लाइन बिस्तार गर्न समस्या नभएपछि छिटपुट घर भएका क्षेत्रमा लगानी बढी हुने देखिएको छ । २०५८ सालमा स्थापना भएको आयोजनाको संस्थापक अध्यक्ष रहेका चौधरीले ५ सय फिट गहिराइको बोरिङबाट सिधै पानी वितरण गर्ने गरिएको जानकारी दिए ।
 

View : 279

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved