Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

विराटराजवंशी समुदायद्वारा ‘तिला सुकरात’ को शुभकामना आदानप्रदान

उद्‌घोष संवाददाता
१ माघ २०८२, बिहिवार

Advertisement

विराटनगर । विराटराजवंशी समाज उत्थान समितिले माघे सङ्क्रान्तिको  अवसरमा बिहीबार शुभकामना आदानप्रदान तथा सांस्कृतिक उत्सव आयोजना गरेको छ । विराटनगर महानगरपालिकाको पूर्व–दक्षिण सिमानामा जोडिएको जहदा–३, वभनटोलीमा सो कार्यक्रम सम्पन्न भएको हो ।

विराट राजवंशी समुदायले आफ्नो मौलिक र ठूलो पर्वको रूपमा  माघे सङ्क्रान्तिलाई तिला सुकरातको नामबाट मनाउने गर्दछन् । सो अवसरमा आयोजित कार्यक्रममा सहभागीहरूलाई तिल, लड्डु र विभिन्न प्रकारका  परम्परागत परिकारहरू खुवाइएको थियो ।

मौलिक पहिचानको जगेर्नामा जोड

कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष भूवनेश्वर मण्डल विराटराजवंशीले आफ्नो समुदायको कला र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न यस्ता उत्सवहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले विराट राजवंशीहरूको आफ्नै मौलिक पहिचान र इतिहास रहेको भन्दै यसको जगेर्नाका लागि सबै संगठित हुनुपर्नेमा जोड दिए ।

त्यसैगरी, युवा समिति अध्यक्ष विक्रम विराटराजवंशीले विगत आठ वर्षदेखि निरन्तर रूपमा ‘तिला सुकरात’ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिए। उनले युवाहरूको सक्रियताले मात्रै समुदायको उत्थान सम्भव हुने बताए ।

अतिथि तथा सहभागीहरूको उपस्थिति

कार्यक्रममा समितिका उपाध्यक्ष प्रदीप विश्वास विराटराजवंशी, पूर्व सांसद शिवकुमार मण्डल, विराट राजवंशी सांस्कृतिक पुस्तकालय विराटनगर–१२ का अध्यक्ष कुशेश्वर विराटराजवंशी लगायतका वक्ताहरूले विराटराजवंशी समुदायको सामाजिक, राजनीतिक र सांस्कृतिक अधिकारका विषयमा पनि चर्चा गरेका थिए ।

उत्सवमा जहदा र विराटनगर आसपासका विराटराजवंशी समुदायका अगुवा तथा स्थानीय बासिन्दाहरूको बाक्लो उपस्थिति  थियो। सहभागीहरूले एकापसमा शुभकामना साटासाट गर्दै पर्व हर्षोल्लासका साथ मनाएका थिए ।

View : 471

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved