Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

धार्मिक पर्व मोहर्रम मनाउँदै मुस्लिम समुदाय

धर्मगुरु मोहम्मद इमाम हसनको सम्झनामा विश्वभरका मुस्लिम धर्मालम्वीले यो पर्व मनाउने गरेका छन् ।  पर्व मनाउने क्रममै बिहीबार र शुक्रबार विराटनगरमा दुई जना घाइते भएका छन् । गत वर्षपनि विराटनगरमै पर्व मनाउने क्रममा केही मानिस घाइते भएका थिए ।
उद्‌घोष संवाददाता
२२ असार २०८२, आइतवार

विराटनगर । मुस्लिम धर्मालम्वीले मनाउने मोहर्रम पर्व साँस्कृतिक भए पनि लाठी र तरवारसँगै खेल खेलिने भएकाले यसप्रति सबैको चासो हुन्छ ।

यही खेलमा आपसमा लाठी, तरवार लागेर मानिस घाइते भएको घटनाले सुरक्षा निकायले यो पर्वलाई सुरक्षा दिने गरेको छ ।

विराटनगरका मुस्लिम अगुवा सलिम मियाँका अनुसार खासगरी जुलाईको १ देखि १० तारिकसम्म यो पर्व मनाइने भए पनि ५ र ६ तारिकमा विषेश कार्यक्रम हुने गरेको छ ।

धर्मगुरु मोहम्मद इमाम हसनको सम्झनामा विश्वभरका मुस्लिम धर्मालम्वीले यो पर्व मनाउने गरेका छन् । 

पर्व मनाउने क्रममै बिहीबार र शुक्रबार विराटनगरमा दुई जना घाइते भएका छन् । गत वर्षपनि विराटनगरमै पर्व मनाउने क्रममा केही मानिस घाइते भएका थिए ।

पुनः यस्तो घटना नहोस भनेर मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अगुवाईमा सुरक्षा सतर्कता अपनाइएको छ ।

बेलुका मशाल जुलुश ननिकाल्ने, शान्ति सुरक्षामा असर नगर्ने र कुनै घटना भए मुस्लिम समुदायनै जिम्मेवार हुने सहमति भएको सलिम मियाँले बताए । शनिबार विराटनगरमा मुस्लिम समुदायले बुहत सडक प्रदर्शन गरेका छन् । धार्मिक र नेपालको राष्ट्रिय झण्डा लिएको समूहले मोटरसाइकल जुलुशले नगर परिक्रमा गरेको थियो ।

अपरान्ह ७ बजेदेखि विराटनगरका दुई स्थानमा लाठी र तरवारसहितको धार्मिक कला प्रदर्शनी गर्ने भनिएको कार्यक्रम राति ८ बजेसम्म ननिकालिएकाले सुरक्षाकर्मी कुरेर बसेका थिए ।

राति ९ देखि ११ बजेसम्म प्रदर्शनी हुने भएकाले सुरक्षा तैनाथका साथ आफुहरु सडकमा रहेको प्रमुख जिल्ला अधिकारी यादवले बताए । 

सुरक्षाका लागि मोरङमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबै संगठनका धेरै जसो जनशक्ति विराटनगरमा परिचालन गरिएको छ ।

नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी इश्वर कार्कीले प्रदेशका बिभिन्न जिल्लामा मुस्लिम सुमदायले मनाउने धार्मिक पर्वका लागि जिल्ला सुरक्षा समितिमार्फत सहमति गरेर औपचारिक कार्यक्रम गरेको जानकारी दिए ।

‘धार्मिक वर्षमा असुरक्षा नहोस् भनेर सुरक्षा योजना अनुसार नै प्रहरी परिचालन गरिएको छ’ कार्कीले भने । उनका अनुसार अरु जिल्लामा एक दिन विषेश कार्यक्रम गरिए पनि मोरङमा मुस्लिम समुदायले दुईदिन धार्मिक प्रर्दशनी गर्दैछन् ।

आशुरा अर्थात् मोहर्रमको दसौं दिन आइतबार देशका विभिन्न भागमा ताजिया जुलूस, मजलिस र इमाम हुसेनप्रति श्रद्धाञ्जलिका कार्यक्रमहरू भइरहेका छन् ।

विशेष गरी काठमाडौं, वीरगञ्ज, नेपालगञ्ज, विराटनगर, धनुषा, बारा, पर्सा र रौतहट जिल्लामा रहेका मुस्लिम बस्तीहरूमा श्रद्धालुहरूको उल्लेखनीय सहभागिता देखिएको छ । मोहर्रमको मुख्य दिन आशुरा यस वर्ष २०८२ असार २२ गते (२०२५ जुलाई ६) का दिन मनाइदै छ ।

धार्मिक सभाहरूमा इमाम हुसेनको बलिदान र करबला युद्धको सम्झनामा प्रवचन, सामूहिक प्रार्थना तथा मातम (विलाप) गर्ने परम्परा निर्वाह गरिदैछ । केही स्थानमा ताजिया जुलूस निकाल्ने तयारी पनि अन्तिम चरणमा पुगेको छ ।

स्थानीय प्रशासनले शान्तिपूर्ण तवरले पर्व सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था कडा बनाएको छ । 

जिल्ला प्रशासन कार्यालयहरू, शान्ति समिति तथा प्रहरी प्रशासनबीच समन्वय गरी जुलूसका मार्गहरू पहिल्यै निर्धारण गरिएको छ । जोखिम हुनसक्ने स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

रौतहट, बारा र सर्लाहीजस्ता तराईका जिल्लाहरूमा भने केही ठाउँमा भिड व्यवस्थापन चुनौती बन्ने सम्भावना देखिएको भन्दै प्रशासनले विशेष सतर्कता अपनाएको जनाएको छ ।

नेपाल–भारत सीमावर्ती क्षेत्रहरूमा पनि सुरक्षामा ध्यान दिइएको छ, किनभने सीमापारबाट श्रद्धालुहरूको आगमनको सम्भावना रहन्छ । जोगवनी नाकामा दिउँसोदेखिनै सशस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मी थप परिचालन गरिएको छ ।

यस वर्षको मोहर्रम पर्वले धार्मिक सहिष्णुता र आपसी सद्भावको उदाहरण प्रस्तुत गरिरहेको छ । हिन्दू तथा अन्य समुदायका व्यक्तिहरूले पनि कार्यक्रमहरूमा आत्मीयतापूर्वक सहभागिता जनाइरहेका छन् । 

मुस्लिम धर्मगुरुहरूले मोहर्रमलाई अन्यायविरुद्धको प्रतीकको रूपमा स्मरण गर्दै न्याय, बलिदान र सामाजिक एकताको सन्देश फैलाउन आह्वान गरेका छन् । ठुलो संख्यामा विराटनगरमा शनिबार गरिएको प्रर्दशनीपनि शान्तिपुर्ण रहेको प्रहरीको भनाइ छ ।

मुस्लिम अगुवा तथा नेता सलिम अन्सारी नेपाल र भारतमा एकै किसिमले पर्व मनाउने गरिएको बताउंछन् । कलाकारसमेत रहेका उनी दुबै देशमा समान किसिमका पर्व उत्सवमा सहभागी भएको बताउँछन् ।

‘कतिपयले बलिदानीको पर्व भने पनि यसलाई उत्सवका रुपमा मनाउने गरेका छन्  बलिदानीको अर्थका लागि ‘पूजापाठ’ गरेर अधर्मको त्याग गर्ने गरेका छन्’ अन्सारीले भने ।

View : 368

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved