Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

सुनिता गुरुङ दलित होइनन्

गुरुङलाई मन्त्री नबनाउन दलित संघको माग
उद्घोष सम्वाददाता
२१ साउन २०८१, सोमवार

कांग्रेस संसद सुनिताकुमारी गुरुङको प्रतिनिधित्वबारे कांग्रेस प्रदेश समितिका सभापति उद्वव थापालाई ध्यानाकर्षण गराउँदै नेपाल दलित संघका प्रतिनिधीहरु । तस्वीर: बाबुराम/भण्डारी

विराटनगर । नेपाली कांग्रेसभित्र कोशी प्रदेशमा मन्त्री बन्ने दौडधुप चलिरहँदा दलित कोटाबाट समानुपातिक सांसद निर्वाचित भएर एक पटक मन्त्रीसमेत बनिसकेकी एक महिला सांसदको प्रतिनिधित्वप्रति कांग्रेस निकट नेपाल दलित संघले नै प्रश्न उठाएको छ ।

कांग्रेसकी प्रदेश सांसद सुनिताकुमारी गुरुङ दलित कोटाबाट सांसद चयन भएकी हुन् । उनी दलित नभएको भन्दै दलित संघले विरोध जनाएको हो । 

संघले आइतबार संसदीय दलका नेता समेत रहेका कांग्रेस प्रदेश समिति सभापति उद्धव थापालाई ध्यानाकर्षण बुझाउँदै उनको प्रतिनिधित्वमाथि नै प्रश्न उठाएको छ ।

दलित संघ कोशी प्रदेश समितिका अध्यक्ष गोविन्द दर्नालले पार्टीभित्र गोजीबाट मान्छे निकालेर सांसद बनाइने गरेका कारण दलित समुदायको भावनामाथि चोट पुगेको बताए । उनले दलित संघमा कुनै पनि योगदान नभएका व्यक्तिलाई जबरजस्ती दलित बनाएर दलित कोटामा सांसद बनाउने र विभिन्न पदमा पुर्‍याउने अवस्थाको अन्त्य गर्न माग गरे ।

तराईको दलित समुदायका ‘राम’ सँग विवाह गरेकै कारण गुरुङलाई दलित बनाएर सांसद चयन गरिएको आरोप लगाउँदै समानुपातिक सूचिमा दलिततर्फ पहिलो नम्बरमा रहेकी झापाकी पम्फादेवी विश्वकर्माले सर्वोच्च अदालतमा २०७९ पुस १२ मा रिट दायर गरेकी थिइन् ।

आइतबार पार्टीका प्रदेश अध्यक्ष थापालाई सम्बोधन गरेर बुझाइएको ध्यानाकर्षण पक्रमा कांग्रेसको त्रियाशील सदस्य समेत नभएको अवस्थामा गैरदलितलाई दलित कोटामा सांसद चयन गरिएको आरोप लगाइएको छ । 

‘सुनिताकुमारी गुरुङ नेपाली कांग्रेसको क्रियाशील सदस्य समेत नरहेको र पार्टीमा कुनै योगदान नभएको, दलित संघको कार्यक्रमहरूमा सहभागी नदेखिएको, नेपालको संविधान २०७२ को मर्म र भावना विपरीत दलित कोटाबाट प्रदेशसभाको गैरदलित सांसद नियुक्त भएको बिरोधमा सर्वोच्च अदालतमा रिट निवेदन परी संवैधानिक इजलासमा उक्त मुद्दा विचाराधीन समेत रहेको स्मरण गराउन चाहान्छौं’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘यस्ता किसिमको गतिविधिले इमान्दार कार्यकर्ताहरूको मनोबल गिर्ने र पार्टी संगठनमा नकारात्मक असर पर्ने समेत भएको हुँदा त्यसतर्फ पनि पार्टीको ध्यानाकर्षण गर्दै निज गुरुङलाई अब उप्रान्त कुनै पनि पदहरूमा नियुक्तिको सिफारिस नगरिदिन हुन अनुरोध छ ।’

गैरदलित रहेकी गुरुङलाई दलित कोटामा प्रदेशसभा सदस्य नियुक्त गरिएको भन्दै ऊनलाई अविलम्ब बर्खास्त गरी दलित कोटाको बन्दसुचीमा रहेका व्यक्तिलाई सांसद नियुत्त गर्न संघका प्रदेश समितिका सचिव अमर बराइलीले माग गरेका छन् । 

उनले सरकारमा मन्त्री चयन गर्दा समेत समावेशी सिद्धान्त आधारमा दलितलाई अवसर प्रदान गरिनुपर्ने बताए । 

ध्यानाकर्षण पत्र बुझ्दै कांग्रेस कोशी प्रदेश सभापति थापाले पार्टीभित्र गुट रहेको भन्दै ‘गुट मात्रै सही’ भन्ने भावना नहटेका कारण विभिन्न खालका समस्या आएको बताए । उनले जुनसुकै गुटमा रहे पनि अवसरहरूमा मिलेर जानुपर्ने बताए । 

‘पार्टीभित्र अर्को गुटलाई सक्नैपर्ने हाम्रो सोच छ, सबै जना पार्टीकै साथीहरू हो भन्ने भावना राखेर अघि बढौं’ उनले भने, ‘नेतृत्वले जसरी निर्देशन गर्छ त्यसैगरी हामी चल्ने हो, हाम्रोमा त खाली छेक्ने कुरा हुन्छ, यसरी पार्टी चल्दैन ।’

सांसद गुरुङ यसअघि केदार कार्की नेतृत्वको विद्रोही समूहमा रहेर कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री बनेकी थिइन् । 

View : 150

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved