राधाकृष्ण रथयात्रामा चोरीका घटना उल्लेख्य
चोरीका घटनामा पक्राउ परेका व्यक्तिहरुलाई प्रहरीले भ्यानमा हाल्दै । तस्वीर : उद्घोष
विराटनगर । ऐतिहासिक राधाकृष्ण रथयात्राका क्रममा चोरी, लुटपाट र अराजक गतिविधिमा संलग्न रहेको आरोपमा डेढ सयको हाराहारीमा मानिसहरू पक्राउ परेका छन् । मंगलबार विराटनगरमा भएको रथयात्रा समापन हुनु अगावै राति ९ बजेसम्ममा यतिका मानिस पक्राउ परेका हुन् ।
एसियाकै ठूलो मध्येको धार्मिक उत्सवका रुपमा लिइएको विराटनगरको राधाकृष्ण रथयात्रामा धार्मिक भावले आउने गरेकाहरू धेरै छन् । तर कतिपय भने चोरी लुटपाट नै गर्ने उद्देश्यले पनि भारतदेखि मानिसहरू आउने गरेको प्रहरीको भनाइ छ ।
पक्राउ परेकामध्ये मोरङ जिल्ला बाहिरका र भारतीयहरू धेरै रहेको प्रहरी उपरीक्षक नवराज कार्कीले बताए । यतिका मानिस पक्राउ गरिएपछि प्रहरीलाई नियन्त्रणमा लिएर राख्न समेत हम्मे परेको छ ।
मोरङ प्रहरीका अनुसार चोरीमा संलग्न मध्ये धेरैले महिलाले बोक्ने ब्याग ब्लेडले काटेर मोबाइल फोन र रकम चोरेका छन् । केहीलाई तत्कालै पक्राउ गरेको र केहीलाई भने मानिसहरुले पहिचान गरेर प्रहरीको सहयोगमा पक्राउ गरेको जनाइएको छ ।
रथयात्रामा हुने चोरी, झगडा र दुर्व्यवहार निगरानी गर्न प्रहरीले सादा पोसाकमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो । विराटनगरका १३ वटा स्थानमा सादा पोसाकका सुरक्षाकर्मीले समूह बनाएर निगरानी गरेका थिए ।
प्रहरीले सोमबार नै पनि ४० जनालाई नियन्त्रणमा लिएको थियो । चोरीमा संलग्न हुन सक्ने आशंकामा रथयात्राको पूर्वसन्ध्यामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूलाई बुधबार उपस्थित हुने सर्तमा छाडिएको जनाइएको छ ।
रथयात्रामा चोरको बिगबिगी हुने भएकाले प्रहरीले पहिलेदेखि नै शङ्कास्पद व्यक्तिहरूको निगरानी गर्दै सीमावर्ती क्षेत्रमा पनि कडाइ गरेको थियो ।
काम नदेखाई अनावश्यक रुपमा विराटनगर छिर्न खोज्ने भारतीयलाई सोमबार जोगवनी नाकाबाटै प्रहरीले फर्काएको थियो ।
पक्राउ परेकाहरूलाई रथयात्रा सकिएपछि प्रमाणका आधारमा मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ । उनीहरूको पुरानो अभिलेख हेरेर पटकेमा मुद्दा चलाइने प्रहरीको भनाइ छ ।
पक्राउ परेका मध्ये कतिपय फरार अपराधीहरू पनि हुन सक्ने भएकाले अभिलेख हेरिने जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।
सुरक्षा र सम्भावित चोरी तथा अन्य घटना नियन्त्रण गर्न मोरङ प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी संयुक्त रुपमा परिचालन गरिएको थियो ।
View : 625
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved