विराटनगर । सशस्त्र प्रहरी बल नेपालको स्थापना भएको २३ वर्ष पुगेको भएपनि मोरङ जिल्लामा यसको औपचारिक स्थापना भएको २१ वर्ष पूरा भएको छ ।
सो अवसरमा सोमबार कंकालनीमाई गण (सशस्त्र प्रहरी ३ नम्बर गण) टंकीसिनवारीले विविध कार्यक्रमका साथ स्थापना दिवस मनाएको छ।
मोरङको तत्कालीन टंकिसिनवारी (हाल बुढीगंगा) मा स्थापना गरिएको सो गणले सुरुवाती दिनमा निकै कठिन अवस्था सामना गरेको थियो ।
खरको टाटी र छानामुनि सञ्चालन गरिएको गणमा वर्षायाममा सुरक्षाकर्मीले प्लास्टिक ओढेर रात बिताउनुपरेको स्मरण गरिएको छ । हाल भने गणमा स्थायी संरचना निर्माणसँगै हरियाली बगैंचासमेत विकास गरिएको छ ।
गणपति गेहेन्द्रबहादुर भण्डारीका अनुसार चालु आर्थिक वर्षमा मात्रै करिब ४ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ भने १३ जनालाई पक्राउ गरिएको छ ।
यसै अवधिमा ११ लाख ६२ हजार रुपैयाा बराबरको अवैध नोट बरामद गर्नुका साथै लागुऔषधसहित २५ जनालाई नियन्त्रणमा लिएर कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।
सीमा सुरक्षातर्फ सशस्त्र प्रहरीले १ हजार २ सय ३५ पटक गस्ती गरेको छ भने २१ पटक दशगजा क्षेत्र सरसफाइ गरिएको जानकारी दिइएको छ ।
साथै, मानव तस्करी नियन्त्रणका क्रममा भारततर्फ लगिदै गरेका ८ जना महिला तथा बालबालिकाको उद्धार गरिएको छ भने एक जना संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाहीका लागि बुझाइएको छ ।
कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक मनीष थापाले गणको प्रगतिको प्रशंसा गर्दै आफू पनि यस गणमा प्रमुख भएर काम गरिसकेको स्मरण गरे ।
उनले संगठनको विकासमा निरन्तर ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी निरीक्षक ज्ञानबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो ।
साथै, विभिन्न समयमा सहादत प्राप्त गरेका मोरङ निवासी सशस्त्र प्रहरीका परिवारलाई पनि सम्मान गरिएको थियो ।
स्थापना दिवसका अवसरमा भलिबल, ब्याडमिन्टन, टेबलटेनिसलगायत खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरीका कलाकारहरूले देशभक्तिपूर्ण गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
मोरङको खुला सीमाक्षेत्रमा सशस्त्र प्रहरीले बन्दुक, गोली, अवैध भारतीय तथा नेपाली मुद्रा, गाँजा र अन्य लागुऔषध तथा भन्सार छलीका सामान नियन्त्रणमा लिदै आएको छ ।
चोरी–तस्करी नियन्त्रणका कारण जिल्लामा करिब १५ प्रतिशत राजश्व वृद्धि भएको एक अध्ययनले देखाएको छ ।
त्यसैगरी, बिपद व्यवस्थापनमा पनि सशस्त्र प्रहरीको उल्लेखनीय योगदान रहेको छ । वर्षायाममा बाढी तथा डुबानका घटनामा उद्धार कार्यमा सक्रिय भूमिका खेल्दै आएको सशस्त्र प्रहरीले गत वर्ष मात्रै ४८ पटक उद्धार अभियान सञ्चालन गरेको थियो ।
तत्कालीन गणपति स्व. राजेश घिमिरेको पहलमा डुबान प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार गरिएको थियो ।
भीड नियन्त्रणका क्षेत्रमा समेत सशस्त्र प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
कोशी प्रदेशको राजधानी विराटनगरमा हुने विभिन्न आन्दोलनहरूमा भीड नियन्त्रणमा ३ नम्बर गण अग्रपंक्तिमा खटिदै आएको छ ।
चालु आर्थिक वर्षमा मात्रै २२५ पटक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।
View : 688
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved