विराटनगर । जिल्ला सहकारी संघ लिमिटेड मोरङको नेतृत्वमा राकेश दाहाल निर्विरोध निर्वाचित भएका छन्। संघको आगामी कार्यकालका लागि निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारहरूको प्रारम्भिक सूचीअनुसार अध्यक्ष पदमा दाहालको मात्र एकल उम्मेदवारी परेको हो।
पदाधिकारी र लेखा समितिमा सर्वसम्मत अध्यक्षसहित संघका मुख्य पदाधिकारीहरूमा पनि एकल उम्मेदवारी परेपछि सबैजना निर्विरोध हुने निश्चित भएको छ। निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद भट्टराई, महिला उपाध्यक्षमा संगीता दाहाल, सचिवमा अमृतकुमार गुरुङ, सह–सचिवमा हेरम्बराज भट्टराई र कोषाध्यक्षमा ई. कमलेश्वर ठाकुर निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै, लेखा परीक्षण समितिको संयोजकमा दुर्गाप्रसाद गौतम तथा सदस्यद्वयमा आशिषकुमार यादव र आशाकुमार माझी थारू पनि निर्विरोध चयन भएका छन्।
सदस्य पदमा भने मतदानको सम्भावना
मुख्य पदाधिकारीहरू निर्विरोध चुनिए पनि सञ्चालक समितिको सदस्य पदमा भने चुनावी प्रतिस्पर्धा हुने देखिएको छ। ११ जना सदस्यका लागि १४ जनाको उम्मेदवारी परेकाले तीन जना बढी उम्मेदवार देखिएका हुन्। सदस्य पदमा विजयकुमार सरदार, लक्ष्मण बुढाथोकी, अविनासकुमार निधि, कोपिला आचार्य रिमाल, कुमार फुयाल, उदयनारायण बराल, सूर्यकुमार दाहाल, हेमराज सुवेदी, ईश्वरबहादुर कार्की, उमेश गुरुङ, हिमा मैनाली, गोविन्द निरौला, लक्ष्मण साहू र भोजराज निरौलाले उम्मेदवारी दिएका छन्।
निर्वाचन समितिका संयोजक अधिवक्ता राजेश सुब्बाका अनुसार उम्मेदवारको नाम फिर्ता लिने समय सोमबार दिउँसो २ बजेसम्म तोकिएको छ। यदि सदस्य पदका आकांक्षीहरूबीच सहमति नभएमा र नाम फिर्ता नलिएमा तोकिएको कार्यतालिका अनुसार मतदान प्रक्रिया अघि बढाइनेछ। निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली सोमबार दिउँसो ३ बजे प्रकाशित गर्ने तयारी गरेको छ।
अधिवक्ता राजेश सुब्बाको संयोजकत्वमा गठित समितिमा हरिबहादुर खत्री र माधव अधिकारी सदस्य रहेका छन्। मोरङको सहकारी क्षेत्रलाई नयाँ दिशा दिन दाहालको नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने विश्वास सहकारीकर्मीहरूले व्यक्त गरेका छन्।
View : 492
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved