Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

बुद्धोदय सहकारीका शेयर सदस्यलाई १३ प्रतिशत लाभांस

उद्‌घोष संवाददाता
४ असोज २०८२, शनिवार

विराटनगर । विराटनगर–३ स्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो शेयर सदस्यलाई १३ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । 

सो संस्थाको शुक्रबार भएको १७ औं साधारणसभाबाट लाभांस वितरण गर्ने प्रस्ताव पारित भएको हो ।  

साधारण सभामा संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद खनालले आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सो प्रस्ताव गरेका थिए । 

सो सहकारीले बितेको आर्थिक वर्षमा आर्जन गरेको मुनाफाबाट शेयर सदस्यलाई उनीहरूको शेयर पूँजीको १३ प्रतिशत लाभांस वितरण गर्ने निर्णय गरेको हो । 

सो अवसरमा संस्थाका लेखा समिति संयोजक अविनाश निधिले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आब २०८१–८२ मा संस्थाले २ करोड १६ लाख ६५ हजार आम्दनी गरेको बताए । 

सो अवधिमा कुल खर्च १ करोड ४२ लाख ८९ हजार खर्च भई बाँकी रकममा नेपाल सरकारलाई बुझाउनु पर्ने आयकरपछि ५९ लाख १ हजार ८७ रूपैयाँ खुद बचत गर्न सफल भएको बताए । 

संस्थाले शेयर सदस्यलाई लाभांस बितरणका साथै संस्था आबद्ध कर्मचारीलाई २ महिनाको तलब बराबरको रकम लाभांश वापत उपलब्ध गराउने निर्णयसमेत गरेको अध्यक्ष खनालले बताए ।  

सो अवसरमा संस्थाले १५ जना ज्येष्ठ शेयर सदस्यलाई दोसल्ला, सम्मानपत्र र नगदसहित सम्मान गरेको छ भने संस्थाका ब्यवस्थापक अमित रेग्मीलाई नगद ५ हजार राशिसहित पुरस्कृत गरिएको छ । 

उनीहरूलाई राष्ट्रिय सहकारी बैंक विराटनगरका प्रबन्धक चिरञ्जीवी तिम्सिना र संस्थाका अध्यक्ष खनालले सम्मान तथा पुरस्कार वितरण गरे ।

बुद्धोदय सहकारीमा हाल ५ सय ३९ महिलासहित ९ सय ६४ जना शेयर सदस्य रहेको जनाइएको छ ।

View : 323

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved