विराटनगर । कोशी अस्पताल विराटनगरमा अब नियुक्त हुन लागेका कर्मचारीको नाम पहिले नै सार्वजनिक भएको दाबी गरिएको छ । यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गर्दैछ ।
आवश्यकताबिनै गर्न लागिएको कर्मचारी नियुक्तिबारे कर्मचारी युनियनले विरोध गरेको छ । अस्पतालको भवन पुनः निर्माणका लागि धेरै जसो पुराना भवन भत्काइएकाले बिरामी थेग्ने अवस्था नरहेको अवस्थामा पनि कर्मचारी थप गरेर आफन्त रिझाउने प्रयास हुँदै गरेको अस्पतालकै पुराना कर्मचारीको दाबी छ ।
ज्यालादारीमा तल्लो तहदेखि उपल्लो तहका चिकित्सकसम्म कार्यरत छन् । तर उनीहरूलाई नयाँ नियुक्ति प्रकृयाबाट वञ्चित गर्न खोजिएको कर्मचारी बताउँछन् ।
आवश्यकता बिनै कर्मचारीको पदपूर्तिका लागि गरिएको तयारी विरुद्ध अस्पताल विकास समिति कर्मचारी युनियनले आन्दोलनको तयारी गरेको बताइन्छ । युनियनले मंगलबार अस्पताल प्रशासनलाई नियुक्ति प्रकृया तत्काललाई रोक्नुपर्ने माग गर्दै बुझाएपछि आवश्यकता बेगर चिनजानका मानिसलाई नियुक्ति गर्न खोजिएको विषय सार्वजनिक भएको छ ।
कोशी अस्पताल विकास समितिले चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिक गरी ५० जना कर्मचारी नियुक्तिका लागि आह्वान गरेको सूचना मापदण्ड विपरीत रहेको भन्दै यसलाई सच्याउनुपर्ने माग गर्दै अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष डा. रोशन खड्काको नेतृत्वको समूहले ज्ञापनपत्र बुझाएको छ ।
‘यहाँ आवश्यकता हैन आर्थिक लाभका लागि कर्मचारी नियुक्त गर्न खोजिएको छ’ युनियनका एक नेताले भने ‘अस्पतालको कुन वार्डलाई कस्तो कर्मचारी चाहिएको हो भन्ने सम्बन्धित विभागलाई नै थाहा छैन ।’ गरिव परिवारलाई उपचार गर्ने कोशी अस्पतालको आयस्रोत न्यून रहेकाले सरकारले नै कर्मचारीको तलबमा पनि लगानी गर्दै आएको कर्मचारी बताउँछन् ।
तीन महिनाको सेवा करार रहने गरी माघ ४ मा जारी गरेको सूचनाले अस्पतालमा कार्यरतहरूको मनोबल गिराएको ज्ञापनपत्रमा जनाइएको छ । विकास समिति अध्यक्ष डा.फरवार्ड सिलवाल र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चन्द्रभाल झालाई १६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएर आवश्यकता बेगर गरिएको नियुक्ति प्रक्रिया रोक्न चेतावनी दिइएको छ ।
नियमित कार्यरत करार र ज्यालादारीका चिकित्सक तथा अन्य प्राविधिक कर्मचारीहरूलाई वेवास्ता गरी सूचना प्रकाशित गरिएकोमा ध्यानाकर्षण गराइएको छ । यसअघि कार्यरत ज्यालादारीका चिकित्सक तथा अन्य प्राविधिक कर्मचारीहरूलाई उक्त प्रकाशित सूचनाले समेट्न नसक्ने बताउँदै कार्यरतहरूको व्यवस्थापनमा पहल लिन आग्रह गरिएको छ ।
अस्पतालबाट प्रकाशित कर्मचारी छनौट सम्बन्धी सूचनामा एकरुपता नदेखिएको जनाउँदै एउटै सूचनामा प्रकाशित पदहरू लिखित र अन्तर्वार्ताबाट पदपूर्ति गर्ने भनिएको र केही पदहरूका लागि अन्तर्वार्ता मात्र गर्ने भनिएकोले संशोधन गर्न माग गरिएको छ । दरवन्दी बिना जथाभावी कर्मचारी नियुक्ति गर्ने परिपाटीको रोक्न र सेवा सञ्चालनमा ध्यान दिन आग्रह गरिएको छ ।
कर्मचारीका बीचमा विभेद र विभाजन गर्ने काम भइरहेको जनाउँदै युनियनले कोशी अस्पताल विकास समिति, जिल्ला प्रशासन कार्यालय मोरङ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बोधार्थ दिएको छ । अस्पताल विकास समिति अध्यक्ष डा फरवार्ड सिलवाल भने नेपाल सरकारसँग दरवन्दी स्वीकृति लिएर आवश्कता माग गरिएको बताउँछन् ।
आवश्यकताअनुसार नै नियुक्ति प्रकृया थालिएको जनाउँदै उनले अख्तियारले सोधेको प्रश्नको जवाफ दिइने बताए । ‘हावादारीमा नियुक्ति प्रकृया थालिएको हैन, चालु रहेका भौतिक संरचनामै सेवा थप गर्न स्वास्थकर्मी र चिकित्सक माग गरिएको हो’ सिलवालले भने ‘हामीले चलाएका योजना जायज हुन हावादारी हैन, सबै विषयको जवाफ हामीसँग छ ।’
View : 1591
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved