विराटनगर । सहकारी ठगी प्रकरणमा अदालतले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेकी अञ्जला कोइरालाले विद्यालयसँग थप बिदा माग गरेकी छन् । तर, उनले बिदा मागेको पत्र भने ‘भर्चुअल’ माध्यमबाट उनका सांसद पति ऋषिकेश पोखरेलले विद्यालयमा प्रेषित गरेका छन् ।
मोरङको उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी अञ्जला शिक्षिका हुन् । प्रतिनिधि सभा सार्वजनिक लेखा समिति सभापति पोखरेल पत्नी अञ्जला विराटनगरस्थित महेन्द्र रात्री माध्यमिक विद्यालयमा पढाउँछिन् ।
अदालतले पक्राउ पुर्जी जारी गरेपछि विद्यालयमा पत्र लेखेर अनुपस्थित रहेकी उनले थप बिदा मागेकी हुन् । विद्यालयका प्रधानाध्यापक झंक पराजुलीले अञ्जलाको थप बिदाका लागि लिखित निवेदन आएको र त्यो निवेदन उनका पति पोखरेलमार्फत आएको जानकारी दिए । ‘अञ्जला म्यामकै नाममा निवेदन आएको छ, पठाउन चाहिँ ऋषिसरले पठाउनुभएको हो’, उनले भने ।
मोरङको धनपालथान गाउँपालिका–४ स्थित उमागौरी कृषि सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा अञ्जलाको नाम जोडिएको थियो । प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि उनीसहित २६ जनाविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
अदालतको पुर्जीपछि फरार अञ्जलाले ५ दिनको बिदा माग्दै विद्यालयमा निवेदन पठाएकी थिइन् । शुक्रबार बिदा सकिएपछि नयाँ पत्र पति ऋषिकेशले पठाइदिएका हुन् । बिदा मागिएको दिनको संख्या निवेदनमा नखुलाइएको र विरामी बिदा पाउँ भन्ने उल्लेख छ ।
सहकारी ठगी प्रकरणमा अञ्जला कोइरालासहित रंगेली–२ का वडाध्यक्ष सन्तलाल खवास, अध्यक्ष शम्भुप्रसाद रौनियारलगायतविरूद्ध मंसिर २७ मा मुद्दा दायर भएको थियो । सरकारी वकिलको कार्यालय मोरङले सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका २६ जनाबाट २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो असुल गर्न माग गरेको छ ।
पत्नी अञ्जलाको नाम यो मामिलामा मुछिएपछि लेखा सभापति पोखरेलले आफू र परिवार जस्तोसुकै परीक्षामा होमिन तयार रहेको बताउँदै आएका छन् । सार्वजनिक लेखा समितिकै बैठकमा सांसदहरूले यो विषयमा कुरा उठाउँदा सभापति पोखरेलले यस्तो जवाफ दिएका हुन् ।
View : 113
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved