सीबीआर विराटनगरको ३५औं साधारणसभा सम्पन्न
विराटनगर । सामुदायिक पुनर्स्थापना केन्द्र (सीबीआर) विराटनगरले आफ्नो ३५औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। शनिबार भएको सभाले संस्थाले गत वर्ष कोशी प्रदेशका १४ जिल्लामा पुर्याएको सेवाको सफल प्रगति राख्दै, भविष्यमा सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।
संस्थाका सचिव नवीन दाहालले प्रस्तुत गरेको प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०८१-८२ मा सीबीआरले उल्लेख्य गतिविधिहरू सञ्चालन गरेको छ। संस्थाले १,६४६ जना सेवाग्राहीलाई पुनर्स्थापना सेवा प्रदान गरेको छ भने १,५९४ पटक पुनःजाँच र उपचार सत्र सञ्चालन गरिएको छ। घुम्ती शिविरहरूमार्फत ३२४ जनाले सेवाको लाभ लिएका छन्।
सहायक उपकरण र पुनर्स्थापना कार्यक्रम
संस्थाले कोशी प्रदेशभरी १८० वटा सहायक सामग्री उत्पादन तथा वितरण गरेको छ। गमनशीलता तालिमबाट १८० जना सामान्य रूपमा हिँड्न सक्ने बनेका छन् भने १०६ जनालाई फिजियोथेरापी सेवा प्रदान गरिएको छ।
यसैगरी, प्रदेशका ३८ स्थानहरूमा फिजियोथेरापी, सहायक सामग्री वितरण र गृहभेट कार्यक्रमहरू सम्पन्न भएका छन्।
स्वस्थ वित्तीय अवस्था
कोषाध्यक्ष डी.एल. चौधरीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार, संस्थाको आर्थिक वर्ष २०८१-८२ को आम्दानी तथा खर्च १ करोड २३ लाख १४ हजार रुपैयाँ रहेको छ। यसले संस्थाको स्वस्थ वित्तीय स्थिति र पारदर्शितालाई संकेत गर्दछ।
साधारणसभामा संस्थाकी सभापति शोभा पोखरेल, उपाध्यक्ष डा. संझना प्रधान, साथै पूर्व सभापतिहरू डा. भेषप्रसाद धमला, लक्ष्मण नेवटिया, कविराज न्यौपाने, मञ्जु रिजाल र पद्मा रिजाल, कनुलाल चाैधरी लगायतको सहभागिता थियो।
उनीहरूले सीबीआरको निरन्तर सेवा र भावी योजनाहरूबारे आ-आफ्ना मन्तव्य राखेका थिए।
यो सभा संस्थाको अपाङ्गता भएका व्यक्तिहरूप्रतिको समर्पण र कोशी प्रदेशभरि यसको सेवाको विस्तारको एउटा महत्वपूर्ण फड्को हो।
View : 494
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved