गुलरिया, १९ भदौ । हिन्दू नारीहरुको महानपर्व हरितालिका तीजको अवसर पारेर बर्दियाको बढैयाताल गाउँपालिकामा सामाजिक सचेतना जगाउने उद्देश्यले तीज गीत प्रतिस्पर्धा गराइएको छ ।
गीतमार्फत प्रजनन स्वास्थ्यका साथै बालविवाह, लागुऔषध र महिलाहिंसा विरुद्ध सचेतनामूलक प्रतिस्पर्धा गराइएको हो ।
समाजमा व्याप्त कुरिति, बेथिति एवं अत्याचारविरुद्ध सचेत पार्ने उद्देश्यले पालिकाको आयोजनामा कार्यक्रम गरिएको छ ।
सचेतनामूलक तीज गीत प्रतियोगितामा बढैयातालभित्रका ११ वटा महिला समूहको सहभागिता रहेको गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले जानकारी दिए ।
भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएको पालिका भएकाले लागुऔषध, मानव बेचबिखन एवम् महिला हिंसाका घटना हुने गरेकाले सचेतनात्मक सांस्कृतिक प्रतियोगिताले समुदायलाई सचेत गराउनुका साथै माैलिक परम्पराको संरक्षणमा मद्दत पुग्ने विश्वास लिइएको उनले बताए ।
अध्यक्ष त्रिपाठीले भने, “कला र संस्कृतिको जगेर्ना गर्दै समाजमा भएका विभिन्न विकृति, विसङ्गति, हानिकारक अभ्यास निर्मूल पार्न प्रतियोगिताले सहयोग पुग्ने विश्वास लिएका छौँ ।
बालविवाह, दाइजो प्रथा, महिला हिंसालगायत सामामाजिक कुरीति नियन्त्रण गर्न प्रतियोगिताले सहयोग पुग्नेछ ।”
स्थानीय महिला समूहले बालविवाह, लागुऔषध, महिलाहिंसा तथा प्रजनन स्वास्थ्य अधिकारका बारेमा गीतका माध्यमबाट सचेतना फैलाउने प्रयास गरेका गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीले बताइन् ।
बालविवाहका कारण समाजमा महिला हिंसालगायत थुप्रै घटना हुने भएकाले अभिभावक चनाखो हुनुपर्ने विषय गीतमा प्रस्तुत गरिएका उनले जानकारी दिइन् ।
विवाह गर्ने सही उमेरका बारेमा ज्ञानको कमी हुँदा महिलाले विभिन्न शारीरिक पीडा भोग्नु परेको, साना बालबालिका लागुऔषधको शिकार हुने गरेकाले यस्ता कुलतबाट बच्न सन्देशमूलक तीज गीत प्रतियोगिता आयोजना गरिएको उनले प्रष्ट्याए ।
बालविवाह तथा महिला हिंसा, प्रजनन स्वस्थ्य र लागुऔषध दुव्र्यसनी न्यूनीकरणसम्बन्धी सन्देशमूलक गीत मौलिक रुपमा रचना गरी प्रतिस्पर्धामा प्रस्तुति गरिएको थियो ।
सहभागी ११ समूहमध्ये पतञ्जलि योग महिला समूह प्रथम, सङ्कल्प महिला विकास समूह द्धितीय, सक्रिय बुहारी समूह तृर्तीय र दिदीबहिनी महिला समूहले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
प्रथम हुने समूहलाई १२ हजार पाँच सय, द्धितीयलाई १० हजार, तृतीयलाई आठ हजार र सान्त्वना स्थान प्राप्त गर्ने समूहलाई तीन हजार सात सय ५० नगदसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । रासस
View : 392
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved