Biratnagar, Morang, Nepal
२८ भदौ २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

कृषि इन्जिनियरिङको भर्ना रोकिएपछि

पूर्वाञ्चल क्याम्पस धरानका प्राध्यापकहरूको आपत्ति

उद्‌घोष संवाददाता
२७ भदौ २०८३, शनिवार

Advertisement

धरान । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत पूर्वाञ्चल क्याम्पस धरानमा कृषि इन्जिनियरिङतर्फको यस वर्षको भर्ना प्रक्रिया स्थगन गरिएकोप्रति सरोकारवालाले आपत्ति जनाएका छन् ।

क्याम्पस प्रशासनले सम्बन्धित विभाग, विद्यार्थी तथा क्याम्पस व्यवस्थापन समितिसँग आवश्यक छलफल नगरी कृषि इन्जिनियरिङ कार्यक्रमको भर्ना प्रक्रिया स्थगन गरेको भन्दै क्याम्पसका प्राध्यापक तथा सरोकारवालाले तत्काल भर्ना प्रक्रिया सुचारु गर्न माग गरेका हुन् ।

उनीहरूले विज्ञप्ति जारी गर्दै कृषि इन्जिनियरिङ कार्यक्रम बन्द गर्नुपर्ने बाध्यकारी प्रावधान नहुँदा नहुँदै विना सल्लाह र सहमति बिना नै कार्यक्रम बन्द गरिको उल्लेख छ ।

कलेजमा प्राध्यापनरत उपप्राध्यापकहरूद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत स्नातक (बीई र बीआर्क) तहको प्रवेश परीक्षा तथा क्याम्पस भर्नासम्बन्धी निर्देशिका-२०८३ मा आंगिक क्याम्पसको प्रथम चरणको भर्ना सूचीमा कुनै कार्यक्रममा पूर्णांकको ६० प्रतिशत कोटा नभरिएको अवस्थामा सम्बन्धित क्याम्पसले उक्त कार्यक्रम सो वर्षका लागि स्थगन गर्न सक्ने व्यवस्था रहेको उल्लेख गरिएको छ ।

तर, उक्त व्यवस्थामा कृषि इन्जिनियरिङ कार्यक्रम नै सञ्चालन बन्द गर्नुपर्ने बाध्यकारी प्रावधान नरहेको उनीहरूको भनाइ छ । विज्ञप्तिमा भनिएको छ, ‘कृषि इन्जिनियरिङ कार्यक्रम सञ्चालन बन्द गर्नुपर्ने कुनै बाध्यकारी व्यवस्था नभएको देखिन्छ ।’

कृषि इन्जिनियरिङ जस्तो देशको कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकरण तथा दिगो विकाससँग प्रत्यक्ष सम्बन्ध राख्ने महत्वपूर्ण प्राविधिक कार्यक्रमलाई एकपक्षीय निर्णयका आधारमा निष्क्रिय बनाउने प्रयास स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख छ ।

यस वर्ष कृषि इन्जिनियरिङको भर्ना स्थगन गरिएको सम्बन्धमा प्रकाशित सूचना तथा त्यसपछिको प्रक्रियाले भर्ना भइसकेका विद्यार्थीमा समेत अन्योल सिर्जना गरेको उनीहरूको दाबी छ ।

पूर्वाञ्चल क्याम्पसलाई प्रवीणता प्रमाणपत्र तहदेखि स्नातक तथा स्नातकोत्तर तहसम्म अध्ययन गर्न सकिने शैक्षिक केन्द्रका रूपमा विकास गरिएको ऐतिहासिक सन्दर्भमा कृषि इन्जिनियरिङ विभागमाथि चपेटामा पार्ने गरी उपेक्षा गरिएको समेत विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा कृषि इन्जिनियरिङतर्फको भर्ना प्रक्रिया तत्काल पुनः सुचारु गर्न क्याम्पस प्रशासनसमक्ष जोडदार माग गरिएको छ ।

विज्ञप्तिमा उपप्राध्यापक एवं क्याम्पस प्रमुख प्रशासन तीर्थ कार्की, उपप्राध्यापक एवं क्याम्पस प्रमुख योजना तथा स्रोत व्यवस्थापन आदित्य ढकाल, उपप्राध्यापक एवं निर्माणीय प्रमुख यामकुमार राई, प्रशिक्षक एवं विभागीय उपप्रमुख सुमन थापा, सह–प्राध्यापक एवं पूर्व क्याम्पस प्रमुख जावेद आलम र प्रशिक्षक समीर शाह लगायतले हस्ताक्षर गरेका छन् ।

View : 50

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved