विराटनगरमा विद्याको व्यस्तता
१० वर्षपछि एमाले मोरङको पार्टी कार्यालय पुगेकी भण्डारी कार्यालयको अवस्थाबारे जानकारी लिंदै । तस्वीर : उद्घोष
विराटनगर । नेकपा एमाले केन्द्रीय कमिटीले पार्टी सदस्यता नै रोकिदिएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अध्यक्ष केपी ओली पक्षधरले मोरङमा भेटघाटमै अवरोध गर्ने असफल प्रयास गरेको छ ।
मंगलबार दिउँसो १२ बजे विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालयमा भण्डारी पुग्ने तय भएको थियो । उनी सहभागी बन्ने कार्यक्रममा नजान भन्दै ओली पक्षका नेताहरूले उर्दी जारी गरेका थिए ।
उद्घोष दैनिकको २१ औं वार्षिकोत्सव समारोहमा सहभागी बन्न पूर्वराष्ट्रपति भण्डारी सोमबार विराटनगर आएकी थिइन् ।
उद्घोषको कार्यक्रमपछि पुराना वाम नेता लव प्रधानलाई निवासमै पुगेर भेटेकी भण्डारीले सोमबार अबेरसम्म भेटघाट गरेकी थिइन् ।
त्यसक्रममा कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग डेढ घन्टा एक्लाएक्लै छलफल भएको थियो ।
मुख्यमन्त्री कार्की अध्यक्ष ओली निकट हुन् । सोमबार राति नै प्रदेशका मन्त्रीहरू राम राना, एकराज कार्की, पाँचकर्ण राई, रेवतीरमण भण्डारीलगायतले पूर्वराष्ट्रपति भण्डारीसँग भेट गरेको एमाले मोरङका सचिव सोमराज थापाले जानकारी दिए ।
एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य महेश रेग्मी, सोही पार्टीका नेतृ सावित्रा रेग्मीले पनि भण्डारीसँग होटल बिगमा भेट गरेर कुराकानी गरेका थिए ।
मंगलबार दिउँसो काठमाडौं फर्कनुअघि एमाले मोरङको पार्टी कार्यालयमा कार्यकर्ताहरूसँग भेटघाट कार्यक्रम तय भएको थियो ।
विराटनगरबाटै राजनीतिक यात्रा सुरु गरेर दुई पटक मुलुकको राष्ट्रपति बनिसकेकी पार्टी पूर्वउपाध्यक्ष भण्डारी पार्टी कार्यालय पुग्ने जानकारी फैलिएपछि ओली पक्षले कार्यकर्ता रोक्न खोजेको थियो ।
पार्टी कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले मोरङ जिल्ला कमिटीका नेताहरूलाई भण्डारीको कार्यक्रम रोक्न बारम्बार दबाब दिएका थिए ।
मोरङका नेताहरूले भने त्यहाँ कुनै कार्यक्रम नभएको बरु भण्डारीले पार्टी कार्यालय हेर्ने भनेपछि सहजीकरण गरेको जानकारी दिएका थिए ।
अध्यक्ष खतिवडाकै निर्देशनमा एमाले विराटनगर महानगर इन्चार्ज पर्शुराम बस्नेतले सामाजिक सन्जालमार्फत पार्टीले कुनै कार्यक्रम आयोजना नगरेको भन्दै भ्रममा नपर्न भनेका थिए ।
‘केही सामाजिक सञ्जाल, फोन र मेसेजमार्फत आज भदौ ३ गते मंगलबार दिउँसो १२ बजे नेकपा एमाले जिल्ला कार्यालयमा पार्टी कार्यकर्ता भेलाको कार्यक्रम रहेको भनी प्रचार गरिएको पाइएको छ’ बस्नेतले फेसबुकमा लेखेका थिए ‘यस सन्दर्भमा स्पष्ट जानकारी गराउन चाहन्छु कि नेकपा एमालेको केन्द्रीय, प्रदेश वा जिल्ला तहबाट त्यस प्रकारको कुनै पनि कार्यक्रम निर्धारण गरिएको छैन ।
साथै, जिल्ला कार्यालय वा विराटनगर महानगरपालिका भित्र पार्टीको कुनै पनि औपचारिक कार्यक्रम तय गरिएको छैन ।
तसर्थ, सो झुटो प्रचारप्रसारप्रति नझुक्किनुहुन सम्पूर्ण नेता, कार्यकर्ता तथा पार्टीप्रेमी जनसमुदायमा हार्दिक अनुरोध गर्दछु ।’
ओली पक्षको यस्तो उर्दीका वावजुद भण्डारीले मोरङ पार्टी कार्यालयमा कार्यकर्ताहरूबाट स्वागत ग्रहण गरेकी थिइन् । जिल्ला, महानगरका पदाधिकारीहरूसहित केन्द्रीय सदस्यहरूको उपस्थितिमा भण्डारीले केहीबेर कार्यकर्तालाई सम्बोधनसमेत गरेकी थिइन् ।
‘विराटनगरमै मैले पार्टी सदस्यता लिएर सपथ लिएको ४५ वर्ष भएछ । मैले अहिले पार्टी सदस्यता नवीकरण गरेको छु’ उनले भनिन् ।
केन्द्रले नवीकरण रोक्ने निर्णय गरेको सदस्यता विवादबारे उनले यसो भन्दा उपस्थित कार्यकर्ताहरूले ताली बजाएर भण्डारीको समर्थन गरेका थिए ।
त्यसअघि होटल बिगमा उद्घोषसँग कुराकानी गर्ने क्रममा भण्डारीले ओलीप्रति लक्ष्य गरेर केही प्रश्न सोधिदिन पत्रकारहरूलाई आग्रह गरेकी थिइन् । भण्डारीले भनिन् ‘ओलीले असार १४ को कार्यक्रममा जे भन्नुभयो, अनि मदन भण्डारी फाउण्डेशनका बारेमा पछाडि जे भन्नुभयो, त्यसबारे तपाईहरू जस्तै पत्रकारले उहाँलाई नै सोध्नुहोला । म चाहिँ अब सोध्दिन ।’
साउन ४ पछि आफूले ओलीसँग कुराकानी नगरेको उल्लेख गर्दै भण्डारीले भनिन् ‘यदि तपाईहरूलाई कुनै किसिमको डर लाग्दैन भने, लोकतन्त्रमा प्रश्न गर्ने अधिकार प्रयोगमा तपाईहरूको रुचि छ भने, उहाँलाई प्रश्न सोध्नुहोला ।’
‘तपाईहरूको उहाँ (ओली) सँग भेट भइहाल्छ । त्यसेबला सोध्नुहोला । सर, तपाईले मदन भण्डारी, जसलाई पार्टीले जननेता मान्छ, आफ्नो गौरव ठान्छ । जबजको प्रणेता मान्छ । उहाँको निधनको ३२ वर्षपछि असार १४ मा किन त्यसो भन्नुभयो ? म चाहिँ उहाँलाई यसबारे सोध्दिन । डर लाग्दैन भने तपाइहरूले सोध्नुहोला ।’
असार १४ अर्थात मदन भण्डारीको जन्मजयन्तीमा ओलीले काठमाडौंको कार्यक्रममा एमालेका पुरानो र नयाँ पुस्ताले थाहै नपाएको लाञ्छनाको प्रसंग उठाएका थिए । चार पत्नी र सहकारी ठगीको प्रसंग उठाएका ओलीको कुराले भण्डारी क्रुद्ध बनेको पाइएको छ ।
‘मदन भण्डारी फाउण्डेशनबारे पनि उहाँलाई तपाईहरूले सोध्नुहोला’ भण्डारीले भनिन् ‘त्यसबेलाको पार्टी नेतृत्वले तपाईलाई पार्टीभित्र ढिम्किन नदिँदा त्यही फाउण्डेशनले तपाईलाई चौतारी दिएको हो कि होइन भनेर पनि उहाँलाई सोध्नुहोला ।’
उनले अगाडि भनिन् ‘कुनै बेला मदन भण्डारी फाउण्डेशनलाई कसैले कर्के नजर लगाए म त्यसको आँखा फुटाइदिन्छु भन्नुहुन्थ्यो । त्यस्तोसम्म भन्ने तपाईले आज फाण्उडेशनलाई किन त्यसो भन्नुभयो भनेर पनि तपाई पत्रकारहरूले उहाँलाई सोधिदिनुहोला ।’
साउन २६ मा मदन आश्रित प्रतिष्ठानको अध्यक्षमा पार्टी उपमहासचिव प्रदीप ज्ञवालीलाई सपथ गराउने क्रममा ओलीले फाउण्डेशनप्रति तीव्र असन्तोष प्रकट गरेका थिए ।
View : 604
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved