विराटनगर । विराटनगरको पवित्र सिङ्घिया खोलामा महाशिव गंगा आरती सुरु गरिएको छ । सोमबारदेखि सुरु भएको आरतीलाई निरन्तरता दिने तयारी गरिएको छ । वैदिक एवं सनातन परम्परा अनुसार शुरु गरिएको आरतीमा उल्लेख्य सङ्ख्याका सर्वसाधारणले सहभागिता जनाएका छन् ।
विराटनगर महानगरपालिकाको पूर्वी सिमाना भएर बग्ने विराटनगर–१९ को सिङ्घिया खोला किनारमा सोमबार साँझबाट महाशिव गंगा आरती शुभारम्भ गरिएको हो । साउन महिनाको पहिलो सोमबारको साइत पारेर महानगरको उत्तर पूर्वी सिमाना घिनाघाट रहेको पुलभन्दा सय मिटर दक्षिणतर्फको खोला किनारमा आरती शुभारम्भ गरिएको हो ।
वैदिक सनातन धर्म संस्कृति संरक्षण अभियान नामक प्रस्तावित समितिले सो ठाउँमा आरती शुरु गरेको हो । विराटनगरमै पहिलोपटक शुरु गरिएको गंगा आरती हेर्न उल्लेख्य सङ्ख्याका सर्वसाधारण सो स्थानमा पुगेका थिए ।
सयौँ व्यक्तिले नजिकैको पुल तथा खोलापारीबाट समेत आरती अवलोकन गरेका थिए । आरती शुरु गर्न प्रस्तावित समितिका २१ जना पदाधिकारीहरू निरन्तर एक महिनासम्म खटिएका थिए । आरती गर्ने वटुकहरूलाई १७ दिने प्रशिक्षण दिइएको थियो ।
बनारसबाट प्रशिक्षित झापाका पण्डितद्वय पुण्य गौतम र तुलसी खतिवडाले आरतीका निम्ति स्थानीय वटुकहरूलाई प्रशिक्षण दिएका थिए ।
प्रत्येक सोमबार साँझ आरतीलाई निरन्तरता दिइने आयोजक अभियानका संयोजक इश्वर खतिवडाले जानकारी दिए । अब उप्रान्त आरतीका निम्ति प्रशिक्षित विराटनगरकै पण्डितहरूबाट आरतीलाई निरन्तरता दिइने उनले बताए ।
आरती शुभारम्भको क्रममा सबभन्दा पहिले स्वस्तिवाचन, मंगलाचरण र कर्पुरबाट आरती गरिएको हो । त्यस लगत्तै दीप आरती र शिव ताण्डव स्त्रोत गाइएको थियो । आरती समापनसँगै प्रसाद समेत वितरण गरिएको थियो ।
सनातन धर्ममा गंगा आरती अनादिकालदेखि चलिआएको श्री लक्ष्मीनारायण मन्दिर पाञ्चालीका पिठाधीश स्वामी अच्युत प्रपन्नाचार्यले जानकारी दिए । उनले जीवनमा जलको महत्व सर्वोपरि रहेको बताउँदै शुरु गरिएको आरतीका कारण खोला सफाइमा समेत सहयोग मिल्ने बताए ।
पुष्पलाल चोक पूर्वको घिनाघाटमा आरती शुरु गरिएको भएपनि आरतीकै लागि भनेर यस ठाउँमा कुनैपनि भौतिक संरचनाको निर्माण गरिएको छैन । जसलेगर्दा आरतीमा सहभागी हुन आएका सर्वसाधारण अव्यवस्थित रुपमा आरती हेर्न बाध्य भएका थिए । आउँदो दिनमा आवश्यक भौतिक संरचनाहरु निर्माण गरिने विराटनगर–१९ का वडाध्यक्ष श्याम घिमिरेले बताए ।
सिङ्घिया खोला किनारको अन्य स्थानहरूमा समेत आरतीको तयारी भइरहेको छ । विराटनगर–१ को परोपकार घाट र विराटनगर–२ तीनपैनीको बजरङ्गबली घाटमा समेत महाआरतिका तयारी स्वरुप संरचनाहरूको निर्माण कार्य भइरहेको जनाइएको छ ।
View : 364
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved