विराटनगर । खोटाङ जिल्लाको दिप्रङ चुइचुम्मा गाउँपालिका–४ स्थित जनता उच्च माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितता देखिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जनाविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले सरकारी रकमको दुरुपयोगमा सहभागी भएको आरोपमा तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेशप्रसाद भट्टराई, तत्कालीन लेखा अधिकृत भुवनप्रसाद आचार्य, तत्कालीन प्रधानाध्यापक हेम्बर बस्नेतविरुद्ध मुद्दा दायर गरेको हो ।
त्यस्तै तत्कालीन सब–इन्जिनियर शिवराज राई, लेखापाल सुरेशकुमार श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलिपकुमार राई, चर्चबहादुर विश्वकर्मा, ठेकेदार बबेन्द्र राईविरुद्ध आयोगले मुद्दा दायर गरेको छ ।
आयोगले उनीहरूउपर नेपाल सरकार तथा सार्वजनिक संस्थालाई हानि पुर्याउने बदनियतले निर्माण सम्झौताको शर्तविपरीत कम गुणस्तरको सामग्री प्रयोग गर्नुका साथै झुटा बिल भर्पाई लगायतको कागजात तयार गरी ३० लाख ५० हजार बराबरको भुक्तानी दिएको आरोप लगाएको छ ।
आयोगका अनुसार, भवन निर्माणको काम तोकिएको ढाँचामा सम्पन्न नगरी पूरै रकम निकासा गरिएको पाइएको छ ।
भवन विद्यार्थीहरूलाई पठनपाठन गराउँदा कुनै बेला दुर्घटना हुन सक्ने गरी कमसल तरिकाले बनाएको पाइएको आयोगले निष्कर्ष निकालेको जनाएको छ ।
आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा ८ को उपदफा (१) बमोजिम भ्रष्टाचारको कसुरमा कैद, जरिवाना र असुल उपरको मागसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता गरिएको जनाएको छ ।
View : 504
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved