Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

बुधबारदेखि पठनपाठन सुरु गर्ने उर्लाबारी नगरपालिकाको निर्णय

उद्‌घोष संवाददाता
८ वैशाख २०८३, मङ्गलवार

विराटनगर । उर्लाबारी नगरपालिकाले बुधबारदेखि नगरभित्रका सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले विद्यालय समेत शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने तथा बैशाख १५ देखि भर्ना लिएर २२ गतेदेखि पठनपाठन संचालन गर्ने निर्देशन गरेपनि स्थानीय तहहरूले विद्यालय खोल्न थालेका हुन् ।

विना कारण देशभर विद्यालय संचालन रोकिएपछि अभिभावकहरूले आक्रोस पोख्दै आएका छन् । 

पठनपाठन संचालनको अन्यौलको अवस्थामा उर्लाबारी नगरपालिकाले पठनपाठन सुचारु गर्ने निर्णय गरेको हो ।

नगरपालिकाको कार्यालयद्वारा मंगलबार जारी सूचना अनुसार सरकारी कार्यालय तथा शैक्षिक संस्थामा हप्तामा दुई दिन बिदा दिने व्यवस्था लागू गरिएको तर उक्त निर्णयका कारण विद्यालय सञ्चालन तालिका प्रभावित भएको उल्लेख छ । 

शैक्षिक तालिका प्रभावित भएको भन्दै नगरपालिकाले आफ्नै परिस्थिति अनुसार पठनपाठन सुरु गर्न लागेको सूचनामा उल्लेख छ ।

उर्लाबारी नगरपालिकाले शैक्षिक गतिविधिमा निरन्तरता आवश्यक रहेको ठहर गर्दै नगर शिक्षा समितिको वैशाख ८ गते बसेको बैठकबाट बुधबारदेखि नै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको जनाइएको छ । 

सूचनामा नगरभित्र सञ्चालनमा रहेका सामुदायिक, धार्मिक तथा संस्थागत सबै विद्यालयलाई उक्त निर्णय कार्यान्वयन गर्न आग्रह गरिएको छ । साथै, विद्यालयहरूले आवश्यक सावधानी अपनाउँदै नियमित कक्षा सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ ।

सरकारको बिदा सम्बन्धी निर्णयपछि विद्यालय सञ्चालनबारे फरक–फरक परिस्थिति बनिरहेको बेला उर्लाबारीको यो निर्णयले स्थानीय स्तरमा शैक्षिक गतिविधिलाई सामान्य अवस्थामा फर्काउने मद्दत पुग्ने जनाइएको छ ।

View : 117

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved