सुनसरी । धरानका उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर राख्न अस्वीकार गरेका छन् ।
नगरप्रमुखको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर टाँस्न दबाब दिदै नाराजुलुससहित पुगेको विभिन्न राजनीतिक दलको टोलीसँग साम्पाङले तस्वीर नराख्ने अडान लिएका हुन् । गत साता उनले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर हटाएका थिए । नगरप्रमुख साम्पाङले तस्वीर पुनः नराख्ने अडान लिएपछि राजनीतिक दलका नेताले तीन दिनभित्र तस्वीर टाँस्न अल्टिमेटम दिए ।
त्यसअघि साम्पाङ र राजनीतिक दल तथा तिनका भ्रातृ संगठनबीच भएको वार्ता विफल भएपछि तीन दिनको अल्टिमेटम दिंदै फर्किएको युवा संघ सुनसरीका उपाध्यक्ष प्रमोज्ञ भट्टराईले जानकारी दिए । उनीहरूले तीन दिन भित्रमा साम्पाङले आफ्नो कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर नराखे आफैं आएर टाँस्ने चेतावनी समेत दिएका छन् ।
मेयर साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएपछि मंगलबार विभिन्न राजनीतिक दलका युवा तथा भ्रातृ संगठनका कार्यकर्ता उनको कार्यकक्षमा तस्वीर राख्न गएका थिए ।
'फोटो राख्नैपर्छ' भन्दै दलका भ्रातृ संगठनका कार्यकर्ता नाराजुलुससहित पुगेपछि उपमहानगर परिसरमा दिनभर तनाव उत्पन्न थियो ।
तनाव भएपछि नगरप्रमुख साम्पाङसँग वार्ता भएको थियो । वार्तामा साम्पाङले पुस २० गते हुने धरान उत्सव कार्यक्रममा प्रधानमन्त्री बोलाउनुपर्ने अडान राखेपछि वार्ता भाँडिएको हो ।
View : 133
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved