दमक । प्रतिनिधि सभा निर्वाचनको इतिहासमै सर्वाधिक मत प्राप्त गर्दै झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित बनेका बालेन शाहले केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले हराएका छन् ।
भावी प्रधानमन्त्रीका रुपमा आ–आफ्ना दलबाट प्रस्ताव गरिएका यी दुई नेताहरू एकै क्षेत्रमा भिडेका कारण झापा ५ सर्वाधिक चर्चामा थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो केन्द्रीत भएको यो क्षेत्रबाट बालेनले बाजी मारेका हुन् ।
यसअघि २०७४ को निर्वाचनमा झापा–५ बाट नेकपा एमालेका अध्यक्ष ओलीले ५७ हजार १३९ मत ल्याएर निर्वाचित भएका थिए । २०७४ सालकै निर्वाचनमा दोलखाबाट एमालेका पार्वत गुरूङले ५५ हजार ३६१ मत ल्याएर निर्वाचित भएका थिए ।
२०८० को उपनिर्वँचनमा चितवन–२ मा रवि लामिछानेले ५४ हजार १७६ मत ल्याएर निर्वाचित भएका थिए ।
चितवन ३ मा रास्वपाकी सोबिता गौतम ५९ हजार २७७ मत ल्याएर विजयी भएकी थिइन् । यस्तै रास्वपा सभापति रवि लामिछानेले चितवन २ मा ५४ हजार ४०२ मत ल्याए ।
मोरङ–६ मै रास्वपाकी रूविना आचार्यले ५५ हजार ५१३ मत ल्याएर निर्वाचित भएकी छन् ।
काभ्रे–२ मा बदनकुमार भण्डारी ५३ हजार ३४४ मत ल्याएर निर्वाचित भए ।
त्यस्तै, रूपन्देही–२ मा सुलभ खरेलले पनि ५० हजारभन्दा बढी मत ल्याएर निर्वाचित भए । खरेलले ५६ हजार ५५० मत ल्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता शाहले ६८ हजार ३ सय ४८ मत पाउँदा ओलीले १८ हजार ७ सय ३४ मत मात्रै पाएका छन् । बालेन र ओलीबीचको मतान्तर ४९ हजार ६१४ मतको रह्यो ।
एमाले अध्यक्ष ओली झापामा दोस्रो पटक पराजित भएका छन् ।
२०६४ को पहिलो सविधानसभा चुनावमा तत्कालीन नेकपा माओवादीका विश्वदीप लिङ्देनसँग पराजित भएका ओली यसपटक रास्वपाका बालेनसँग पराजित भएका हुन् ।
कुनै बेला आफ्नो क्षेत्रमा एमालेबाट जुत्ता उठाए पनि चुनाव जित्ने आत्मविश्वास देखाउने ओली यसपटक इतिहासकै कठिन चुनावी परीक्षामा थिए ।
ओली र उनको दलले झापा ५ मा अनुभव गरिरहेको दबाबकै परिणामस्वरूप यसअघि कहिल्यै घरदैलो नगरेका ओली यो पटक टोलटोल पुगेर मतदाताका गुनासो सुनेका थिए । तर, उनको भगिरथ प्रयास यसपटक कामयाव हुन सकेन ।
यसअघिका निर्वाचनमा देशभरका सभाहरूमा सम्बोधन गर्न पुग्ने ओली यसपटक आफ्नो क्षेत्रमै बढी केन्द्रित रहे । पहिले मतदातासँग दोहोरो कुरै नगर्ने उनी यसपटक आफ्नो क्षेत्रका मतदाताको गुनासो ध्यानसँग सुनिरहेका भेटिन्थे ।
‘यसपटक अचम्मै भइरहेको छ’, झापा ५ का एक एमाले कार्यकर्ताले चुनाव अघि भनेका थिए, ‘अचेल भने उहाँ सबैको गुनासो सुन्दै हिंडिरहनु भएको छ । एकै जनाको कुरा आधा घन्टासम्म धैर्य गरेर सुनेको हामीले देखेका थिएनौं ।’
ओलीमा एकाएक आएको यो परिवर्तन भने बाध्यात्मक थियो । यसपालि ओली र एमालेमाथि जबर्जस्त दबाब सिर्जना गर्ने काम बालेन शाहले गरेका थिए ।
काठमाडौं महानगरका निवर्तमान मेयर शाह रास्वपा प्रवेश गरेर पार्टीको वरिष्ठ नेता मात्रै भएनन्, भावी प्रधानमन्त्रीको उम्मेदवार नै बने ।
युवा पुस्तामाझ लोकप्रिय रहेका र्यापर बालेन आफ्ना विरूद्ध भावी प्रधानमन्त्रीका रूपमा खडा भएपछि ओलीले ठूलो चुनौती महसुस गरेका थिए । उनी स्वयं र एमालेका अन्य नेताहरूको सार्वजनिक अभिव्यक्तिले यही देखाउँथ्यो ।
त्यसो त झापा ५ मा ओली र बालेन मात्रै उम्मेदवार थिएनन् ।
नेपाली कांग्रेसकी मन्धरा चिमरिया, नेकपाका रन्जित तामाङ, श्रम संस्कृति पार्टीका समीर तामाङ लगायतका उम्मेदवारहरू चुनावी मैदानमा थिए ।
यद्यपि एमाले र रास्वपाले भावी प्रधानमन्त्री घोषणा गरेका ओली र बालेन वरिपरि झापा ५ को चुनावी बहस र चर्चा केन्द्रित रह्यो ।
अन्य कोही प्रतिस्पर्धामै नरहेको झल्को दिने गरी केपी कि बालेन भन्ने प्रश्नमा यो क्षेत्रको बहस चर्केर गयो ।
ओली आफ्नो क्षेत्रमा सधैँ आत्मविश्वासी देखिन्थे । यसपटक त्यो आत्मविश्वास देखिएको थिएन । २०६४ मा पहिलो पटक सविधानसभा निर्वाचन हुँदै थियो । अहिलेको झापा ५ त्यसबेला झापा निर्वाचन क्षेत्र नम्बर ७ थियो ।
चुनावी अभियान उत्कर्षमा पुगिरहेको बेला एमालेले दमक चोकमै एउटा सभा आयोजना गरेको थियो । त्यो सभाका मुख्य वक्ता थिए केपी शर्मा ओली ।
सोही क्षेत्रबाट एमाले उम्मेदवार रहेका ओली काठमाडौंबाट भद्रपुर विमानस्थल ओर्लेर सोझै सभालाई सम्बोधन गर्न आएका थिए ।
एमालेका कार्यकर्ता र शुभेच्छुकहरूको ठूलो भिडका माझ उत्साही ओलीले कांग्रेसविरूद्ध आफ्नै चीरपरिचित शैलीमा फायर खोले । माओवादीलाई त प्रतिस्पर्धामै नआउने घोषणासमेत गरे ।
त्यही सभामा उनले आत्मविश्वासी आवाजमा भनेका थिए ‘यो क्षेत्रमा एमाले उम्मेदवार भनेर एउटा जुत्ता उठाए पनि जितिन्छ ।’
तालीको गडगडाहट आवाजले ओलीको त्यो अभिव्यक्तिलाई सदर गर्यो । सविधानसभा निर्वाचन भयो ।
मतगणनाको अन्तिम नतिजा आयो । जुत्ता उठाए पनि जितिने बताएका ओली आफै उम्मेदवार थिए तर उनले चुनाव हारे ।
उनले प्रतिस्पर्धामै नआउने घोषणा गरेका माओवादी उम्मेदवार विश्वदीप लिङ्देन विजेता बने ।
ओलीको क्षेत्र मात्रै होइन, आफ्नो किल्ला दाबी गर्ने एमालेले त्यसबेला झापा ६ बाहेक अरू सबै क्षेत्रमा पराजय व्यहोरेको थियो ।
२०६४ को निर्वाचन हारेका ओली २०७० को दोस्रो संविधानसभा निर्वाचनमा विजेता बने । त्यसबेला उनले आफ्नो क्षेत्रमा केही सभामा मात्रै सहभागीता जनाएका थिए ।
२०७४ मा वाम गठबन्धन गर्दागर्दै राप्रपालाई झापा ३ दिएर भए पनि ओलीले तीन दलीय मोर्चा बनाए ।
त्यो चुनाव सहजै जितेका उनले २०७९ मा पनि राप्रपासँगै सहकार्य गरेर कांग्रेस, माओवादी सहितको पाँच दलीय मोर्चाविरूद्ध फराकिलो जित हात पारेका थिए । त्यो निर्वाचनमा भने ओलीले झापा ५ का सबै पालिकामा आयोजना भएका कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए ।
यसपटक भने ओलीले लगातारजसो मतदाता भेटेर उनीहरूका कुरा सुनेका थिए ।
खासगरी जेनजी आन्दोलनबाट प्रधानमन्त्री पदबाट अपदस्थ हुनुपरेपछि ओली राजनीतिक रूपमा रक्षात्मक बन्न पुगेका थिए । जेनजी आन्दोलनका प्रेरक बनेका बालेनबाटै ओली पराजित बन्न पुगेका छन् ।
२०४८ र ५१ मा चुनाव जितेका ओली २०५६ मा झापाका दुई ठाउँबाट जित्न सफल भएका थिए । यसपटक ओली आफूले हार्दै गर्दा देशैभर उनको दलको चुनावी नतिजा ज्यादै कमजोर छ ।
२०४८ सालमा एमालेले देशभर ६९ सिट जित्दा अहिले कोशी प्रदेशमा पर्ने जिल्लाहरूका ३९ क्षेत्रमध्ये ३० वटा एमालेले जितेको थियो ।
यसपटक भने झापाका ५ वटै क्षेत्र एमालेले गुमाउने निश्चित भइसकेको छ । मोरङमा रास्वपा क्लिन स्वीप नजिक छ ।
२०७४ सालमा भएको चुनावमा एमाले र माओवादीबीच गठबन्धन भएको थियो । जसमा प्रत्यक्षतर्फ एमालेले कोशी क्षेत्रका १७ स्थान जितेको थियो । गठबन्धनको अर्को दल माओवादीले पाँच स्थान जितेको थियो ।
२०७९ को चुनावमा कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका पाँच दलले गठबन्धन गरेका थिए ।
त्यति हुँदा पनि प्रतिनिधिसभा निर्वाचनमा कोशी प्रदेशमा एमालेले आफ्नो प्रभाव कायम राख्न सफल भएको थियो । एमालेले प्रत्यक्षतर्फ कोशीका २८ निर्वाचन क्षेत्रमध्ये १३ स्थान जितेको थियो ।
यसपटक भने ओली आफै त हारे नै, कुनैबेला लालकिल्ला भनिएको कोशी पहाड र तराईका क्षेत्रहरूमा पनि कमजोर नतिजा एमालेको नियति बन्न पुगेको छ ।
View : 55
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved