Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

एनसेल कोशी प्रदेशका तीन जिल्लामा थ्रीजी सेवा बन्द गर्दै

उद्‌घोष संवाददाता
२० माघ २०८२, मङ्गलवार

विराटनगर । नयाँ प्रविधि अपनाउँदै सेवा स्तरोन्नति गर्ने योजनाअनुसार एनसेलले कोशी प्रदेशका विभिन्न स्थानमा बिहीबारदेखि थ्रीजी सेवा बन्द गर्ने भएको छ । एनसेलले गत वर्ष नै चरणबद्ध रुपमा थ्रीजी सेवा बन्द गर्ने घोषणाअनुरुप कोशी प्रदेशका तीन जिल्लाका विभिन्न स्थानीय तहहरूमा यो सेवा बन्द गर्ने भएको हो ।

यो कदम फोरजी नेटवर्कलाई थप सुदृढ बनाउँदै भविष्यको फाइभजी सेवाका लागि आधार तयार गर्ने उद्देश्यले गरिएको कम्पनीले जनाएको छ । एनसेलले ‘भोइस ओभर लङ टर्म एभोल्युसन’(भोल्टे) प्रविधिलाई प्रवर्द्धन गर्दै थ्रीजीमा आधारित भ्वाइस सेवाहरू फोरजी नेटवर्कमा स्थानान्तरण गर्न लागेको हो । देशभर फोरजी नेटवर्क विस्तार भइरहेका बेला थ्रीजी सेवा बन्द हुँदा ग्राहकहरूले भ्वाइस र डेटा सेवामा अझ राम्रो गुणस्तरको कनेक्टिभिटी अनुभव गर्न सक्ने कम्पनीको दाबी छ ।

सोही क्रममा माघ २२ गते बिहीबारदेखि कोशी प्रदेशका झापा, धनकुटा र तेह्रथुम जिल्लाका विभिन्न स्थानीय तहमा थ्रीजी सेवा बन्द गरिने एनसेलले जनाएको छ । ती क्षेत्रमा रहेका ग्राहकहरूलाई भोल्टे सेवा प्रयोग गर्न कम्पनीले आग्रह गरेको छ । भोल्टे प्रविधिमार्फत उच्च गुणस्तरको भ्वाइस कल उपलब्ध हुने र फोन सम्पर्क तुलनात्मक रूपमा छिटो स्थापित हुने एनसेलले जनाएको छ ।

ग्राहकहरूले अतिरिक्त शुल्क नतिरी उही दरमा गुणस्तरीय भ्वाइस कल तथा फोरजी डेटा सेवा प्रयोग गर्न सक्नेछन् । भोल्टे सेवा सक्रिय गर्न ८१२३८११३ डायल गर्न सकिने र त्यसपछि मोबाइल फोनको सेटिङमा गएर भोल्टे अन गर्नुपर्ने व्यवस्था छ ।

एनसेलले आफ्नो फोरजी नेटवर्कमार्फत देशैभर भोल्टे सेवा सञ्चालनमा ल्याइसकेको जनाएको छ । भोल्टे सेवा प्रयोग गर्न फोरजी चल्ने मोबाइल फोन, फोरजी सिमकार्ड वा इ–सिम तथा फोरजी नेटवर्क उपलब्ध क्षेत्र आवश्यक पर्नेछ । कुन मोबाइल ब्रान्ड र मोडलमा भोल्टे सेवा उपलब्ध छ भन्ने जानकारी एनसेलको वेबसाइट तथा एनसेल एपमार्फत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

एनसेलका अनुसार हाल देशभर झन्डै ९५ प्रतिशत जनसंख्यामा फोरजी कभरेज पुगिसकेको छ । सोही आधारमा भोल्टे सेवा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । भोल्टे सेवामार्फत ग्राहकहरूले एकै समयमा भ्वाइस कल र मोबाइल ब्रोडब्याण्ड सेवा सहज रूपमा प्रयोग गर्न सक्ने कम्पनीको भनाइ छ ।

View : 597

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved