Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

रिजालको नेतृत्वमा दोश्रो एक्स्पो पनि भव्य, आज समापन हुँदै

उद्घोष सम्वाददाता
१६ पुष २०८०, सोमवार

विराटनगर । मोरङ व्यापार संघको नेतृत्व गरेका उद्योगी नवीन रिजालले आफ्नो अगुवाइमा आयोजना गरेको दोस्रो एक्स्पो पनि भव्य रुपमा समापन हुँदैछ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले एक्स्पोको समापन गर्ने कार्यक्रम तय भइसकेको छ ।

अध्यक्षको कार्यकालमा रिजालले दुई पटक एक्स्पो आयोजना गर्ने अवसर पाए । रिजालले आफ्नै नेतृत्वमा मोरङ व्यापार संघकै नामबाट ‘एमबीएस एक्स्पो’ लाई ब्राण्डिङ पनि गर्न सफल भए । 

पुस ६ गतेदेखि सुरु भएको यो एक्स्पो सफल रुपमा सम्पन्न हुन लागेको अध्यक्ष रिजालले बताएका छन् । उनले आइतबारसम्म साढे दुई लाख दर्शकले अवलोकन गर्दा १० करोड बढीको कारोबार भएको जानकारी दिए । दर्शक र कारोबारको हिसावले पनि एक्स्पो सफल भएको उनले दाबी गरे ।

रिजालले दोस्रो एक्स्पो पनि सफल रुपमा सम्पन्न गरेसँगै उनी मोरङ व्यापार संघको सफल नेतृत्वकर्ताका रुपमा स्थापित हुँदै छन् । 

रिजालले विगतमा कोभिड १९ को अवस्थामा खस्किएको बेला अर्थतन्त्रलाई माथि उकास्न सरकारसँग नियमित लविङ, २२ प्रतिशत पुगेको बैंकको ब्याजदरलाई ११ प्रतिशतमा झार्नका लागि सडक आन्दोलनको नेतृत्व, मिरगञ्ज पुल सञ्चालनका लागि अनवरत पहल गरेका थिए । त्यसका साथै राष्ट्रबैंकको नीतिका कारण औद्योगिक क्षेत्र धरासायी बनेको भन्दै त्यसका विरुद्ध विराटनगर र काठमाडौंमा राष्ट्रबैंक अगाडि नै धर्नाको नेतृत्व गरेका थिए ।

आधा दर्जन उद्योग प्रतिष्ठान तथा व्यावसायिक कम्पनीका सञ्चालक रहेका रिजालले कोभिड–१९ को बेलामा कोभिड अस्पताल निर्माणमा सदस्य रहेर समेत आफ्नो सामाजिक भूमिका पूरा गरिसकेका  छन् ।

उनले मुलुकको विद्यमान शिथिल आर्थिक गतिविधिलाई चलायमान बनाउन एक्स्पो सफल भएको दाबी गरे । कोशी प्रदेशमा उत्पादित भएका कृषिजन्य तथा घरेलु वस्तुहरूको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरणमा समेत योगदान पुगेको बताए । 

त्यसका साथै कोशी प्रदेशका असंख्य पर्यटकीय तथा धार्मिक गन्तव्यहरूको प्रचार–प्रसार र कला संस्कृति क्षेत्रको जगेर्ना गर्न पनि एक्स्पो सफल भएको बताए ।

यस पटकको एक्स्पोमा नेपालमै सबैभन्दा ठूलो जर्मन प्रविधिको ह्याङ्गरभित्र २२० वटा स्टलहरू राखेर घरेलु, साना, मझौला तथा ठूला उद्योगहरूका उत्पादन प्रवर्द्धन र बिक्री वितरण गरेको जनाइएको छ ।

साथै पर्यटन, शिक्षा, स्वास्थ्य तथा औद्योगिक उत्पादनहरूको प्रदर्शनी र भारत लगायत बंगलादेश र पाकिस्तानमा उत्पादित वस्तुहरूको समेत प्रवर्द्धन भएकोले अन्तर्राष्ट्रिय व्यापारको बाटो एक्स्पोका माध्यमबाट सुदृढ बन्न मद्दत पुगेको बताए ।

View : 144

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved