विराटनगर । कोशी प्रदेशका तीन ठाउँमा विद्युतीय सवारी साधन चार्जिङका लागि प्रदेश सरकारले चार्जिङ स्टेशन निर्माण गरेको छ । विराटनगर, इटहरी र झापाको सुरुङ्गामा बनेका चार्जिङ स्टेशनको आइतबार उद्घाटन समेत गरिएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तीनवटै ठाउँमा बनेका चार्जिङ स्टेशनको संयुक्त रुपमा विराटनगरबाटै उद्घाटन गरेका हुन् । उनले पेट्रोलियम पदार्थको आयात घटाउन र विद्युतको प्रयोग बढाउँदै लगेमात्रै मुलुकको विकास हुने बताए ।
खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रालयले करीव ३५ लाख रुपैयाँको लागत दरमा तीन ठाउँमा करीव १ करोड १४ लाख रुपैयाँ खर्चिएर चार्जिङ स्टेशन निर्माण गरेको जनाइएको छ । तीनवटै ठाउँमा एकै प्रकार र क्षमताको चार्जिङ स्टेशन जडान गरिएको हो ।
विराटनगरमा जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयमा निर्माण गरिएको चार्जिङ स्टेशनमा ६० किलोवाट क्षमताको कम्बाइन चार्जिङ सिस्टम (सीसीएस–२) मोडलको चार्जिङ स्टेशन जडान गरिएको छ ।
मन्त्रालय स्रोतका अनुसार कोशी प्रदेशमा नेपाल विद्युत प्राधिकरणपछि कोशी प्रदेश सरकारले युरोपियन स्ट्याण्डर्डका तीनवटा विद्युतीय चार्जिङ स्टेशन जडान गरेको जनाइएको छ ।
एउटा चार्जिङ स्टेशनमा एक पटकमा दुईवटा विद्युतीय सवारी साधन चार्ज गर्न मिल्ने जनाइएको छ । सामान्यतया एउटा विद्युतीय कार चार्ज हुन बढीमा एक घण्टा लाग्ने दाबी गरिएको छ । ब्याट्रीको क्षमता अनुसार चार्जको समय लाग्ने जनाइएको छ । उक्त चार्जिङ स्टेशनमा चार्ज गर्ने सवारी साधनको चाप बढ्दै गएको खण्डमा थप दुईवटा पोर्ट राख्न मिल्ने जनाइएको छ ।
चार्जिङ सेन्टर उद्घाटन कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जवेगूले सडक सुधार भएका पहाडी क्षेत्रमा समेत विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्दै लैजानु पर्नेमा जोड दिए । सरकारकै सक्रियतामा पहिलो चरणमा तीन ठाउँमा विद्युतीय चार्जिङ स्टेशन निर्माण हुनु महत्वपूर्ण कार्य भएको दाबी गरे ।
कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले नगरपालिकाले विद्युतीय सवारी साधनको प्रवर्द्धनका लागि २०७४ सालयता कुनैपनि नयाँ सवारी साधन खरिद नगरेको जानकारी दिए । उनले वडाध्यक्षहरुलाई समेत विद्युतीय सवारी साधनकै प्रयोग गर्न प्रोत्साहित गरेको बताए । नगरपालिकाले नै विद्युतीय सवारी साधनको प्रयोग गर्न नीतिगत निर्णय गरेको उनले बताए ।
प्रदेश सरकारले नै तीनवटा चार्जिङ स्टेशन निर्माण गरेपछि कोशी प्रदेशमा अब चार्जिङ स्टेशनको संख्या ११ पुगेको छ । यसअघि नेपाल विद्युत प्राधिकरणले उदयपुरको बेलका, सुनसरीको इनरुवा, इटहरी, मोरङको विराटनगर बसपार्क र झापाको दमकमा दुईवटा, सुरुङ्गामा एकवटा र अर्जुनधारामा एकवटा चार्जिङ स्टेशन निर्माण गरिसकेको जनाइएको छ ।
प्रदेश सरकारले स्थापना गरेको चार्जिङ स्टेशनमा नेपाल विद्युत प्राधिकरणकै बिलिङ प्रणालीबाट चार्जको बिल भुक्तानी गर्न सकिने र निजी चार्जिङ स्टेशनको भन्दा सहुलियत दरमा विद्युतीय सवारी साधन चार्ज गर्न सकिने जनाइएको छ ।
View : 223
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved