विराटनगर । कोशी प्रदेशका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अपराध कर्ममा संलग्न जोसुकैलाई पनि कारवाही हुने बताएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयमा बिहीबार पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै डीआईजी घिमिरेले प्रदेशको सुरक्षा प्रणालीलाई प्रभावकारी, भरोसायोग्य र नागरिकमैत्री बनाउन आफूले कुनै पनि कसर बाँकी नछाड्ने बताए ।
उनले प्रदेशको प्राथमिकता, चुनौती र समाधानका मार्गचित्रका बारेमा आफू स्पष्ट रहेको भन्दै अपराधका कुनै पनि घटनामा संलग्नलाई कारवाही हुने विश्वास दिलाए ।
जेनजी आन्दोलनपछि प्रहरीको कार्यस्थलको मनोबल गुमेको चर्चा हुने गरे पनि कोशी प्रदेशमा भने संगठनको मनोबल कमजोर नभएको उनको दाबी गरे ।
नेपाल प्रहरीले जेनजी आन्दोलन लगायतका अन्य धेरै आन्दोलन भोगिसकेका कारण संगठनमा आवद्ध कुनै पनि प्रहरीको मनोबल नगुम्ने बताए ।
अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा कोशी प्रदेश प्रहरी सवल र सक्षम रहेको बताए । जनचेतनामुलक कार्यक्रमलाई तिब्रता, ट्राफिक व्यवस्थापन, भन्सार छली चोरी निकासी नियन्त्रण, लागुऔषधको प्रयोग र ओसार–पसार नियन्त्रणमा कडाइका साथ प्रहरी परिचालन गरिने बताए ।
डीआईजी घिमिरेले प्रदेशको सुरक्षा अवस्थालाई व्यवस्थित बनाउन सवै जिल्लामा प्रहरी संगठनले जनताको मन जित्ने गरी काम गर्ने पनि बताए । उनले सडक सुरक्षाको चुनौती बनेको सिटी सफारीको यात्रा व्यवस्थित गर्न ‘सुरक्षित चालक’ अभियान संचालन गरिने बताए ।
त्यस्तै विराटनगरलाई शैक्षिक हबका रुपमा हेरिए पनि कतिपय अवस्थामा विद्यार्थी बस्ने छात्रावास पनि आपराधिक घटनाको स्थान बन्न सक्नेतर्फ प्रहरी सचेत रहेको बताए । त्यसका लागि सरोकारवालाहरूसँग आवश्यक छलफल गरिने जानकारी दिए ।
प्रहरी हिरासतमा रहेका थुनुवाहरू मध्ये आधा बढी लागुऔषध प्रयोगकर्ता वा ओसारपसारमा संलग्न व्यक्तिहरू २० देखि ३० वर्ष उमेर समूहका रहेको पाइएकोले प्रहरीका साथै समुदाय पनि सचेत हुनुपर्ने उनको भनाइ छ ।
कोशी प्रदेशमा प्रविधिमैत्री अनुसन्धान, सीसीटीभी एकीकृत प्रणाली, डिजिटल प्रमाण सुरक्षित गर्ने प्रणालीमा सुधार जस्ता विषयलाई आफ्नो कार्यकालमा प्राथमिकतामा राखिएको बताए ।
View : 203
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved