Biratnagar, Morang, Nepal
२८ फागुन २०८१, बुधवार
+977 21 450305, 515728, 578305
समाज

हजार अंकमा लक्ष्मणको कुनो : नेवटियालाई उद्‌घोष साहित्य सम्मान

उद्‌घोष सम्वाददाता
२६ फागुन २०८१, सोमवार

विराटनगर । उद्‌घोष  दैनिकमा हरेक आइतबार प्रकाशित हुँदै आएको ‘लक्ष्मणको कुनो’ स्तम्भले १  हजार अंक पुगेको खुसीयाली आइतबार एउटा भव्य समारोहमार्फत साटिएको छ । 

विराटनगरस्थित सिटी प्यालेसमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख पर्शुराम खापुङदेखि लेखन र समाजका सबै क्षेत्रका सयौं प्रतिनिधिहरूको उपस्थितिमा लेखक लक्ष्मण नेवटियालाई उद्‌घोष साहित्य सम्मानसमेत अर्पण गरिएको छ । 

उद्‌घोष  दैनिकको प्रकाशन संस्था सौगात प्रकाशन प्रालिले ‘लक्ष्मणको कुनो–हजार अंक साहित्य सम्मान’को आयोजना गरेको थियो । 

कार्यक्रमका प्रमुख अथिति प्रदेश प्रमुख पर्शुराम खापुङले सामाजिक सद्भाव कायम राख्न, देशलाई बलियो सम्बन्धमा जोडिरहन लेखक–साहित्यकारहरूको भूमिका धेरै हुने बताएका थिए । 

‘हिमाल, पहाड तराईलाई जोड्न र समाजमा सद्भाव कायम राखिरहन लेखकहरूको ठूलो भूमिका रहेको हुन्छ’, उनले भने ‘लेखक नेवटियाले आफ्नो स्तम्भलाई १ हजार अंकसम्म पुर्‍याएर त्यो कर्ममा योगदान गर्नुभएको मैले अनुभूत गरेको छु । उहाँको अझै सक्रियता र लेखन निखारियोस् भन्ने कामना गर्दछु । यस अवसरमा उद्‌घोष दैनिकलाई पनि शुभकामना र बधाइ दिन्छु ।’

खापुङले सो अवसरमा लेखक नेवटियालाई उद्‌घोष  साहित्य सम्मानबाट सम्मानित गरेका थिए । 

पत्रिकाको कुनै एक स्तम्भ नियमित रूपमा प्रकाशित भई हजार अंक पुग्नुलाई सामान्य मान्न नसकिने ठानेर विशेष समारोहसहितको कार्यक्रम गरिएको र सबैले कार्यक्रममा साथ दिएकोमा संस्थाका अध्यक्ष तथा सम्पादक मोहन भण्डारीले सबैप्रति आभार प्रकट गरेका छन् । 

नेवटिया निरन्तर रूपमा समाजका विसङ्गति, राजनीतिक विकृति, सामाजिक संरचनाभित्र रहेका कमजोरी र मानव प्रवृत्तिलाई व्यङ्ग्यात्मक ढंगले प्रस्तुत गर्ने व्यङ्ग्य विधाका कवि हुन् । 

‘लक्ष्मणको कुनोले केवल मनोरञ्जन मात्र दिएको छैन, समाजलाई ऐना देखाउने काम पनि गरेको छ । 

‘लक्ष्मणको कुनो स्तम्भको युवादेखि ज्येष्ठ नागरिकसम्म नियमित पाठक छन्’ कार्यक्रमका वक्ताहरूले भने, ‘पत्रिकाको कुनै पनि स्तम्भ निरन्तर हजार अङ्कसम्म प्रकाशित हुनु नेपाली पत्रकारिता तथा साहित्य क्षेत्रमा दुर्लभ उपलब्धि भएकाले नेवटियाको योगदानलाई उच्च मूल्यांकन गरिनुपर्छ ।’

कार्यक्रममा लेखक नेवटियाका शब्दयज्ञ, अदृश्यका अन्तरदर्शन, नेपाल मारवाडी कविता संग्रह सम्पादित, श्री अग्रभागवत नेपाली अनुवाद, व्यंग्यधामको लोकार्पण तथा विमोचनसमेत गरिएको थियो ।

कार्यक्रममा शब्दयज्ञबारे लेखक तथा पत्रकार प्रमोद प्रधानले समीक्षा गरेका थिए भने सुरेशराज शर्माले अदृश्यका अन्तरदर्शनको र कल्याणसिंह शेखावतले मारवाडी कविताको समीक्षा गरेका थिए ।

विराटनगर महानगर प्रमुख नागेश कोइराला, नेवटियाका पुत्र स्वतन्त्र नेवटिया र सौगात प्रकाशनका प्रबन्ध निर्देशक बन्धु पोखरेलले लेखकको ले्खनीबारे चर्चा गरेका थिए । कार्यक्रम आयोजक समितिका सह संयोजक भीखमचन्द सरलले स्वागत गरेका थिए ।

कार्यक्रममा उद्‌घोष दैनिकले तयार पारेको नेवटियाको एक हजार अंकको यात्राबारे वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।

View : 169

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved