Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

शिक्षण सिकाइ कार्यशाला

उद्घोष सम्वाददाता
१७ जेठ २०८१, बिहिवार

विराटनगर । शिक्षण पद्धतिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित विराटनगरका शिक्षकको सहभागितामा लिटिल एञ्जल्स कलेज अफ म्यानेजमेन्टले कार्यशाला गोष्ठी गरेको छ । 

कलेजका प्रधानाध्यापक डा. मित्रबन्धु पौडेलका अनुसार शिक्षक तथा विद्यार्थीमा देखिने तनाव र अध्ययन अध्यापनका चुनौति कम गराउन शिक्षकबीच शिक्षण सिकाई कार्यक्रम गरिएको हो ।

मंगलबार विराटनगरमा आयोजित गोष्ठीमा प्रशिक्षक समेत रहेका प्रिन्सिपल पौडेलले शिक्षण क्षेत्रमा देखिएको चुनौती र निराशालाई न्यूनीकरण गर्दै शिक्षकको काम प्रभावकारी गराउन कार्यशाला केन्द्रित भएको बताए ।

शिक्षक र विद्यार्थीबीच सैद्धान्तिक अध्ययनसँगै व्यावहारिक र अभ्यासात्मक शिक्षण आवश्यक हुनेमा जोड दिएका प्रशिक्षक डा.पौडेलले विद्यार्थीसँगै अध्यापन गराउने शिक्षकमा समेत संवेदनात्मक चेतको विषयमा प्रष्टाइएको जानकारी दिए । 

मोरङ औद्योगिक क्षेत्र भएको हुँदा कार्यक्रममा विद्यार्थीलाई व्यवसायप्रति उन्मुख गराउनका लागि कसरी शिक्षा दिन सकिन्छ त्यसबारे गहन छलफल गरिएको उनले बताए । कार्यक्रममा कलेजकी सहायक एकेडेमी डाइरेक्टर डा. स्मृति कला पन्तले कोभिड १९ महामारीपछि शिक्षण क्षेत्रको विकासबारे प्रस्तुति दिएकी थिइन् ।  

हिसानका उपाध्यक्ष भेषराज पोखरेलले शिक्षण पेशामा देखिएको समस्या र चुनौती निराकरणका लागि छलफल प्रभावकारी भएको बताएका छन् । 

गोष्ठीमा विराटनगरका शिक्षादीप, मेरिल्याण्ड, अरनिको, नेशनल एकेडेमी, विराट मोडेल र ग्रीनल्याण्ड कलेजका शिक्षकहरूको सहभागिता रहेको थियो । त्यसअघि इटहरीमा सम्पन्न गोष्ठीमा धार्मिक क्षेत्र बराहक्षेत्रको प्रवर्द्धनमा सबै क्षेत्रको पहल आवश्यक रहेको बताइएको थियो ।

डा. पौडेलका अनुसार बराह क्षेत्रलाई धार्मिक सर्किटमा जोडेर आन्तरिकसँगै बाहृय धार्मिक पर्यटकलाई भित्राउन सकिनेबारे धारणा प्रस्तुत गरेका थिए ।

View : 147

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved