Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

शंकास्पद जापान भ्रमणले विवादित बनेपछि मन्त्री अधिकारीको राजीनामा, मानव तस्कारसँग मिलेमतोको आशंका

‘कुनै सामान्य कर्मचारी एक दिन कार्यालयमा अनुपस्थित हुने कुरा पनि हाकिमलाई भनेको हुन्छ, मन्त्रीले आफू जापान जाने कुरा मुख्यमन्त्रीलाई भनेका थिएनन् वा थाहा दिएका थिएनन् होला भनेर कल्पना गर्ने ठाउँ छैन’, एक मन्त्रीले भने ‘जब अनधिकृत व्यक्तिहरूसहित मन्त्रीलाई जापानबाट फर्काइएको कुरा आयो, मुख्यमन्त्रीले थाहा छैन भनेका हुन सक्छन् ।’
उद्घोष सम्वाददाता
२२ कार्तिक २०८१, बिहिवार

विराटनगर । ‘कानूनको अज्ञानता क्षम्य हुँदैन’ भनेर अरुलाई सिकाउने कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले एउटा विवादस्पद विदेश भ्रमणमा आफ्नो कानूनी अज्ञानता देखाएर पदबाट राजीनामा दिएका छन् । केही दिनअघि उनले सुटुक्क गरेको जापान भ्रमण विवादित र मानव तस्करसँग मिलेमतोमा भएको हुनसक्ने खुलेपछि उनले बुधबार राजीनामा दिएका हुन् । 

प्रचलित सरकारी अभ्यास लत्याएर आफूखुसी विदेश पुगेर फर्केका उनको भ्रमणमा ‘मानव तस्कर’ सँगको मिलेमतो खुल्ने गरी घटनाहरू सार्वजनिक हुन थालेका छन् । तर, आफूसँगै जापान छिर्न खोज्नेहरुलाई आफ्नै पहलमा प्रहरीलाई जिम्मा लगाउने काम भने अधिकारी स्वयम्ले गरेका कारण उनीमाथि धेरै अविश्वास गर्न नमिल्ने प्रहरी स्रोतको भनाइ छ ।

सरकारको स्वीकृति बिनै शंकास्पद रुपमा जापान पुगेर फर्किएका मन्त्री अधिकारीले बुधबार पदबाट राजीनामा दिएका छन् । आफ्नो जापान भ्रमण विवादित बनेपछि अधिकारीले ‘नैतिकताका आधारमा’ राजीनामा दिएको बताएका छन् । 

उनी टोकियो महानगरपालिकाको निम्तो भन्दै एउटा सांस्कृतिक कार्यक्रममा सहभागी हुन गत अक्टोबर २९ देखि नोभेम्बर ३ सम्मका लागि सुटुक्क जापान उडेका थिए । सरकारका कुनै पनि मन्त्रीले विदेश भ्रमणमा जाँदा मन्त्रिपरिषद्बाट स्वीकृति लिंदै संघीय सरकारबाट समेत भ्रमणको अनुमति लिनुपर्ने व्यवस्था छ । तर उनी विदाको समय परेको कारण देखाएर कुनै पनि निकायबाट स्वीकृति नलिई जापान पुगेको बताइरहेका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि उनको भ्रमणबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् । यद्यपि कार्की नेतृत्वकै मन्त्रिपरिषदका एक सदस्यले भने त्यस्तो हुनै नसक्ने अनुमान गरेका छन् । 

‘कुनै कार्यालयको एक जना सामान्य कर्मचारी एक दिन कार्यालयमा अनुपस्थित हुने कुरा पनि हाकिमलाई भनेको हुन्छ, मन्त्रीले आफू जापान जाने कुरा मुख्यमन्त्रीलाई भनेका थिएनन् होला भनेर कल्पना गर्ने ठाउँ छैन’, ती मन्त्रीले भने ‘जब अनधिकृत व्यक्तिहरूसहित मन्त्री जापानबाट फर्काइएको कुरा आयो, मुख्यमन्त्रीले थाहा छैन भनेका हुन सक्छन् ।’ 

सत्तारुढ कांग्रेसका एक सांसदले पनि मन्त्री अधिकारीले मुख्यमन्त्रीलाई भनेको थिइनँ भन्ने, मुख्यमन्त्रीले पनि आफूलाई थाहा छैन भन्ने सहमति भएको हुनसक्ने आशंका गरेका छन् । यसबारे छानबिन हुनुपर्ने कुरा उठाउने ती सांसदको भनाइ छ ।

पदबाट राजीनामा दिएका मन्त्री अधिकारीले भने आफूले मुख्यमन्त्रीलाई जानकारी दिएको संकेत गरेका छन् । ‘भिसा अलिक दिनअगाडि आएको रहेछ, टिकट त २५ तारिकमा आएको थियो, थाहा पाएको मैले २६ तारिकमा’ मन्त्री पदबाट राजीनामा दिएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अधिकारीले भने, ‘मैले मुख्यमन्त्रीलाई चाहिँ केही दिनका लागि बिदामा छु है भनेको थिएँ ।’

उनले आफू जापान पुगे पनि निम्ता गरिएको कार्यक्रममा सहभागी नभएको बताएका छन् । कार्यक्रममै सहभागी नभएको विषयमा भने मन्त्री अधिकारीले हङकङबाट तीन जना मानिसहरू पनि आफूसँगै मिसिएको भन्दै यो प्रकरणलाई नयाँ मोड दिएका हुन् । यो भनाइले नै मन्त्री अधिकारीको जापान भ्रमण शंकास्पद बनेको हो । यो प्रकरणमा अधिकारीको सबैभन्दा धेरै आलोचना मान्छे लिएर जापान पुगेको भन्नेमा केन्द्रीत भइरहेको छ । 

‘मैले ‘अनेस्टली’ भन्नुपर्छ, म एक्लै थिएँ, हङकङमा तीन जना मान्छे भेटिए, मैले उनीहरूलाई एरेष्ट गराएको छु, ती मान्छे हेर्दैखेरी मसँगै जाने तर उतै बस्न गएजस्तो देखिन्थे’ उनले भने, ‘मैले यो पाप गर्नु हुँदैन, बरु यो अहिले जे भोगिंदैछ, देशप्रति गद्दारी गर्नु हुँदैन भनेर फर्किएँ ।’

मन्त्री अधिकारीले ती तीन जना मानिससँग आन्तरिक मामिला तथा कानून मन्त्रालयको कर्मचारीको परिचय पत्रसमेत भेटिएको जानकारी दिए । तर उनीहरूले मन्त्रालयको कागजात कसरी हात पारे वा नक्कली कागजात बनाए भन्ने कुरा भने मन्त्री अधिकारीले खुलाएनन् ।

‘उनीहरू मेरै कार्यक्रममा गएका रहेछन् मिलाएर, ती मैले नचिनेका मान्छे हुन्’ उनले भने, ‘दुईटा मान्छे खोटाङको, अर्को रसुवाको रहेछ ।’ मन्त्री अधिकारीका अनुसार आफूसँगै हङकङबाट मिसिएका तीनैजनालाई अहिले पक्राउ गराएर प्रहरीको अनुसन्धानमा रहेको जानकारी दिए । पक्राउ पर्नेमा खोटाङका जनक राई, दावा शेर्पा र तेस्रो व्यक्ति नाम नखुलेको देवकोटा थरको भएको मन्त्री अधिकारीले बताए । उनीहरूलाई हनुमानढोका प्रहरीले पक्राउ गरिसकेको र त्यसको जानकारी डीआईजी राजन अधिकारीलाई भएको बताए ।

भ्रमण विवादित हुने भएपछि आफूले नैतिकताका आधारमा राजीनामा दिएको उनले प्रष्टिकरण दिए । ‘मलाई त्यसको बोध भयो, अनि राजीनामा दिएँ’ उनले भने । 

मन्त्री अधिकारीले पत्रकार सम्मेलनमार्फत राजीनामा दिएको घोषणा गर्नुअघि नै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेर राजीनामा बुझाएका थिए । उनले आफूलाई मुख्यमन्त्री कार्कीले राजीनामा गरिहाल्न नभनेको जिकिर गरे । बरु आफैले नैतिकता देखाएर राजीनामा दिएको समेत प्रष्टिकरण दिए ।

राजीनामा पत्रमा मन्त्री अधिकारीले २०८१ सालको तिहार विदाको समयमा आफूले गरेको निजी जापान भ्रमणका क्रममा केही प्रक्रियागत विषयमा प्रश्न उठेको उल्लेख गरेका छन् । उक्त विषयमा प्रश्न उठिसकेपछि उच्च नैतिकताको आधारबाट उक्त मन्त्री पदबाट राजीनामा गरी नेतृत्वलाई सहयोग पुर्याउनु उचित ठानेकोले राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् ।

मन्त्री अधिकारीले बुधबार दिउँसो मुख्यमन्त्री कार्कीलाई भेटेर राजीनामा बुझाएका थिए । त्यसपछि उनले मन्त्रालयमा पत्रकारहरूलाई बोलाएर राजीनामा दिएको घोषणा गरेका थिए । मन्त्री अधिकारीले आफूसँग सल्लाह गरेरै राजीनामा दिएको मुख्यमन्त्री कार्कीले बताए । मन्त्री अधिकारीले आफूले राजीनामा दिन चाहेको कुरा सुनाएपछि दिनुस् भनेर भनेको मुख्यमन्त्री कार्कीले बताए । 

‘म राजीनामा दिन्छु भन्नुभयो, मैले दिनुस् भनें’ मुख्यमन्त्री कार्कीले भने, ‘मानव तस्कारसँगको संलग्नता लगायतका अन्य विषयमा भने मलाई कुनै जानकारी छैन ।’ उनले मन्त्री अधिकारीले जापान भ्रमणबारे आफूलाई जानकारी गराएको भए यस्तो अवस्था नै नआउने बताए । मुख्यमन्त्री कार्कीले भने, ‘जानकारी भएको भए यस्तो अवस्था नै नहुने थियो, नभएर नै समस्या भएको हो ।’

प्रक्रिया नपु¥याई जापान भ्रमणमा गएको कुरा स्वीकार गरिसकेका अधिकारीले व्यक्तिगत निम्तोका आधारमा जापान गएको र सार्वजनिक विदा भएकोले मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत गराउन समय नपाएको भन्दै आफ्नो बचाउ गरिरहेका छन् । तर उनको भ्रमण भने शंकास्पद बन्दै गएको छ ।

भ्रमणका क्रममा शंकास्पद मानिसहरूको संलग्नताले उनी यो प्रक्रियामा थप अनुसन्धानमा तानिने अवस्था बनेको हो । पक्राउ परेका मानिससँग आन्तरिक मामिला मन्त्रालयकै परिचय पत्र र कागजात समेत रहेको मन्त्री अधिकारीले नै स्वीकार गरेका कारण गहिरो छानबिन हुन सक्ने जनाइएको छ । 

मन्त्री अधिकारीले जापान भ्रमणका क्रममा अनधिकृत रुपमा जापान लैजाने गिरोहसँग जोडिएको हुनसक्ने आशंका गरिएको छ । अधिकारीकै भनाइअनुसार उनी कुनै गिरोहको योजनामा परेको हो वा उनी नै त्यसमा जानजान संलग्न भएको हो भन्ने कुरा अनुसन्धानबाट खुल्नेछ ।

मन्त्री अधिकारीको दाबीअनुसार प्रहरीलाई जानकारी गराएपछि पक्राउ परेका तीन जनासहित थप व्यक्तिहरूसमेत पक्राउ परेको प्रहरी स्रोतको भनाइ छ । प्रहरी स्रोतका अनुसार हालसम्म सातजना व्यक्तिहरू पक्राउ परिसकेका छन् । 

पक्राउ पर्नेमा मन्त्री अधिकारीसँग हङकङमा भेटिएका खोटाङका जनक राई, दावा शेर्पा र रसुवाका कञ्चन देवकोटा छन् । उनीहरूलाई आफूले गरेको उजुरीका आधारमा पक्राउ गरिएको मन्त्री अधिकारीको दाबी छ । तर मन्त्री अधिकारीसहित चारैजनालाई जापानको टोकियो विमानस्थल प्रशासनले विमानस्थलमै रोकेर डिपोर्ट गरेको थियो ।

उपत्यका अपराध अनुसन्धान विभागले उनीहरूको बयानका आधारमा धादिङका महेश पाण्डे, नुवाकोटका जुगल रिजाल र दोलखाका अर्का व्यक्तिलाई पक्राउ गरेको छ । स्रोतका अनुसार यो घटनाका मुख्य योजनाकार पाण्डे भएको जनाइएको छ ।

मन्त्री अधिकारी भने काठमाडौंमा बस्दै आएका रतुवामाईकै एकजना गौतम थरका व्यक्तिको सम्पर्कमार्फत गिरोहको योजनामा परेको खुलेको छ । गौतमले नै मन्त्री अधिकारीलाई जापानमा कार्यक्रम भएकोले जानका लागि आग्रह गर्दै गिरोहसँग सम्पर्क गराइदिएको जनाइएको छ । काठमाडौंमा बस्दै आएका ती व्यक्तिलाई समेत प्रहरीले खोजी गरिरहेको छ ।

मोरङको क्षेत्र नम्बर २ को प्रदेश सभा (२) बाट दोस्रो पटक निर्वाचित भएका अधिकारी कोशी प्रदेश सरकारका प्रवक्ता समेत हुन् । उनी विराटनगरका चर्चित अधिवक्ता समेत हुन् । 

पहिलो पटक प्रदेश सभा सदस्य निर्वाचित भएपछि सांसदको हैसियत बनाएका अधिकारीले साढे ३३ किलो सुनकाण्डको सरकारवादी मुद्दामा आरोपीहरूको तर्फबाट जिल्ला अदालतमा बहस गरेर विवादित बनेका थिए ।

उक्त विवादमा उनलाई नेकपा एमाले संसदीय दलले उनलाई स्पष्टिकरण सोध्दै लामो समयसम्म संसदमा बोल्न समेत प्रतिबन्ध लगाएको थियो । पछि एमाले विभाजन हुँदा १० बुँदे पक्षधरका भीम आचार्य मुख्यमन्त्री हुँदा अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्रालयका राज्यमन्त्री बनेका थिए । अधिकारी अघिल्लो कार्यकालमा पनि आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका थिए । पछिल्लो पटक भने २०८१ जेठ ४ मा उनी मन्त्री नियुक्त भएका थिए ।

View : 93

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved