Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

‘डिजिटल स्क्याम’ बाट ठगिने क्रम बढ्दो

‘स्क्याम’ मा संलग्न व्यक्तिहरूले ह्वाट्सएपमा चिट्ठा परेको म्यासेज पठाउनेदेखि विभिन्न किसिमका अफर र उपहार परेको प्रलोभन देखाएर फोन गर्ने र मोबाइल बैंकिङ प्रयोगकर्ताबाट बैंकको प्रणालीबाट प्रवाह हुने विशेष प्रकारको पिन नम्बर अर्थात ‘ओटीपी’ प्राप्त गरी बैंक खातामा पहुँच कायम गरेर रकम चोर्ने गरेका छन् ।
उद्‌घोष संवाददाता
३१ असार २०८२, मङ्गलवार

विराटनगर । साह थरका एक व्यक्तिको नाममा राष्ट्रिय वाणिज्य बैंक विराटनगरमा रहेको खाताबाट गत शुक्रबार तीन लाख रुपैयाँ झिकियो । उक्त रकम चेकबाट निकालिएको होइन ।

डिजिटल प्रविधिको प्रयोग गरी कुमारी बैंकको बरगाछी शाखाको खातामा उक्त तीन लाख रकम ‘ट्रान्सफर’ भयो । त्यो तीन लाख रुपैयाँ पुनः कुमारी बैंकबाट एनएमबी बैंक र प्राइम कमर्सियल बैंक हुँदै अन्य बैंकमा पुगेर बेपत्ता छ ।

आफ्नो खाताबाट रकम निकालिएको थाहा पाएका ती पीडित अहिले मोरङ प्रहरीको सम्पर्कमा पुगेका छन् । प्रहरीले आवश्यक जानकारी संकलन गरेर अनुसन्धानसमेत अघि बढाइसकेको छ ।

साह जस्तै ‘डिजिटल स्क्याम’ मा परेका करिब साढे तीन सय व्यक्तिको गुनासो उजुरी मोरङ प्रहरीसँग रहेको छ । प्रहरी स्रोतका अनुसार यसरी व्यक्तिको बैंक खातामा पहुँच पु¥याउन सबैभन्दा धेरै मोबाइल बैंकिङमा अनधिकृत पहुँच कायम गरिएको छ । 

‘स्क्याम’ मा संलग्न व्यक्तिहरूले ह्वाट्सएपमा चिट्ठा परेको म्यासेज पठाउनेदेखि विभिन्न किसिमका अफर र उपहार परेको प्रलोभन देखाएर फोन गर्ने र मोबाइल बैंकिङ प्रयोगकर्ताबाट बैंकको प्रणालीबाट प्रवाह हुने विशेष प्रकारको पिन नम्बर अर्थात ‘ओटीपी’ प्राप्त गरी बैंक खातामा पहुँच कायम गरेर रकम चोर्ने गरेका छन् । 

‘मोबाइल बैंकिङको सिस्टमबाट यसरी रकम चोर्ने बढी प्रयास देखिन्छ’ प्रहरीको उच्च स्रोत भन्छ ‘मोबाइल बैकिङ नै नबुझ्नेहरूको पहिचान गरी उनीहरूबाट ‘ओटीपी पिन’ वा ‘पासवर्ड’ प्राप्त गरी ठगी हुने गरेको छ ।’

मोरङमा मात्रै एक वर्षमा डिजिटल स्क्यामबाट व्यक्तिको बैंकमा पहुँच कायम गरेर ७ करोड ५५ लाख रुपैयाँ ठगी भइसकेको जनाइएको छ ।

 विभिन्न बैंकहरूको खाताको प्रयोग गरी ठगीका घटना बढ्न थालेको भन्दै मोरङ प्रहरीले चिट्ठा पर्यो भन्दै आएका इमेल, म्यासेज र सामाजिक सञ्जालमार्फत आउने शंकास्पद लिंक नखोल्न आग्रह गरेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कोपिला चुडालले बताइन् । 

उनले अप्रत्यासित सूचना वा प्रस्ताव आएमा त्यसको आधिकारिक संस्थाबाट सत्यता परीक्षण गर्न, आइफोन वा ल्यापटप जस्ता महंगो सामानको फोटो देखाएर रकम माग गर्नेलाई रकम नदिन, अनलाइन बैंकिङ प्रणालीको पासवर्ड, ओटीपी कोड, क्रेडिट कार्ड नम्बर र अन्य जानकारी कसैलाई नदिन आग्रह गरिन् ।

त्यसैगरी अपरिचित मानिसबाट सामाजिक सञ्जालमा साथी बनाउन आउने ‘रिक्वेष्ट’ स्वीकार गर्न नहुने, म्यासेज वा च्याटिङबाट पैसा माग्नेलाई दिन नहुने, थोरै लगानीमा धेरै फाइदा हुने अफरको पछि दौडन नहुने र ठगीमा परेको आशंका हुने वित्तिकै प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको बताइन् ।

View : 373

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved