योगी आचरणलाई व्यवहारमा उतारौँ : वडाध्यक्ष पोखरेल
विराटनगर । विराटनगर–२, तीनपैनीस्थित बजरङ्गवली योग साधना केन्द्रले आफ्नो स्थापनाको एक वर्ष पूरा गरेको अवसरमा शुक्रबार भव्य रूपमा प्रथम वार्षिकोत्सव मनाएको छ।
योग र साधनाको माध्यमबाट टोलबासीलाई स्वस्थ राख्ने उद्देश्यले स्थापित यस केन्द्रले छोटो समयमै उल्लेख्य प्रगति हासिल गरेको हो।
योगलाई जीवन पद्धतिका रूपमा अपनाउनु पर्छ
वार्षिकोत्सव समारोहका प्रमुख अतिथि एवं विराटनगर–२ का वडाध्यक्ष कुमार पोखरेलले योगलाई हलभित्र मात्र सीमित नराखी दैनिक जीवनको पद्धतिका रूपमा अपनाउनु पर्नेमा जोड दिनुभयो।
"योगी हुनु भनेको आसन र प्राणायाम गर्नु मात्र होइन, योगी आचरणलाई व्यवहारमा उतार्नु पनि हो," वडाध्यक्ष पोखरेलले भन्नुभयो, "अहिलेको युवा पुस्तालाई कुलत र मानसिक तनावबाट मुक्त राख्न योगतर्फ आकर्षित गराउनु अपरिहार्य छ।"
उहाँले महानगरलाई स्वस्थ र सभ्य बनाउने अभियानमा वडा कार्यालयले सदैव सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
विद्यालयस्तरमै योग शिक्षाको माग
कार्यक्रममा पतञ्जली योग समिति कोशी प्रदेशका सचिव शोभा कोइरालाले सच्चा योगीको पहिचान उसको सरलता र शान्त स्वभाव हुने बताउनुभयो।
उहाँले योगलाई जगैदेखि संस्थागत गर्न विद्यालय स्तरमा पुर्याउनुपर्ने माग गर्दै वडा अध्यक्षको ध्यानाकर्षण गराउनुभयो।
त्यसैगरी, पतञ्जली महानगर अध्यक्ष माधव अधिकारीले बालबालिकामा नैतिक शिक्षाको अभाव खड्किएको भन्दै विद्यालयस्तरबाटै योग, ध्यान र आयुर्वेदको अभियान चलाउनुपर्नेमा जोड दिनुभयो।
साधना केन्द्र र नेतृत्व सम्मानित
वार्षिकोत्सवकै अवसरमा महानगरभित्र उत्कृष्ट साधना केन्द्र सञ्चालन गरेको भन्दै केन्द्र प्रमुख मिश्रा अधिकारी र वडा संयोजक सुनिल वर्मालाई महानगरका दुवै समितिको तर्फबाट सम्मान गरिएको थियो।
केन्द्र संयोजक मिश्रा अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रस्तुत प्रगति प्रतिवेदन अनुसार, केन्द्रमा हाल दैनिक २५ जना साधकहरूले नियमित अभ्यास गरिरहेका छन्। साथै, यसै वर्ष ३१ जनालाई योग शिक्षकको विशेष प्रशिक्षण समेत दिइएको जानकारी दिइयो।
शुभकामना आदानप्रदान वडा संयोजक सुनिल बर्माले स्वागत मन्तव्य राख्नुभएको सो समारोहमा पतञ्जली महिला महानगर अध्यक्ष कुमारी तामाङ, जिल्ला उपाध्यक्ष ऋषि खतिवडा र महिला जिल्ला उपाध्यक्ष शारदा थापा लगायतले केन्द्रको प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो।
View : 303
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved