सुनसरी । सुनसरीको दुहबीमा एकल महिलामाथि कुटपिट गर्ने व्यक्तिलाई प्रहरीले संरक्षण गरेको भन्दै पीडितले गुनासो गरेकी छन् ।
दुहबी नगरपालिका–५ मा बस्दै आएकी एकल महिला सुनिता आनन्द श्रेष्ठले सोमबार पत्रकार सम्मेलन गर्दै आफूमाथि निर्घात कुटपिट गर्ने अनिता भण्डारी र सुनिता दाहाललाई प्रहरीले अहिलेसम्म पक्राउ नगरेको आरोप लगाएकी हुन् ।
श्रेष्ठका अनुसार गत चैत २३ गते राती घरमा बसिरहेको बेला एक्कासी ती महिलाले आफूमाथि हातपात गर्दै कुटपिट गरेका थिए ।
घटनापछि आफू घाइते भएको र उपचार समेत गराउनुपरेको उनले बताइन् ।
उनले घटनापछि इलाका प्रहरी कार्यालय दुहबीमा किटानी जाहेरी दिए पनि प्रहरीले उजुरी दर्ता गर्न ढिलाइ गरेको र पटक–पटक धाउँदा पनि दोषीलाई पक्राउ नगरेको आरोप लगाइन् ।
इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरिक्षक शिबराम थापाले उजुरी दर्ता गर्न नमानेको र जिल्ला प्रशासन कार्यलयमा बारम्बार हारगुहार मागेपछि घटना भएको पाँच दिन पश्चात मुद्दा दर्ता भएको उनले बताइन् ।
उजुरी दर्ता भए पनि अहिलेसम्म पनि प्रहरीले पीडकलाई पक्राउ गरेर कानूनी दायरामा नल्याएको उनले बताइन् ।
पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको निवेदनमा उनले प्रहरीसमक्ष पटकपटक न्यायको माग गर्दा पनि सुनुवाइ नभएको उल्लेख गरेकी छन् । श्रेष्ठले आफू एकल महिला भएकै कारण कमजोर ठानेर दुव्र्यवहार गरिएको दाबी गरिन् ।
पीडितले घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा मानवअधिकारकर्मीसमक्ष समेत आग्रह गरेकी छन् ।
इलाका प्रहरी कार्यलय दुहबीका प्रहरी निरीक्षक थापाले घरायसी झगडा भएकाले मिलाउन प्रयास गरेको बताए । यद्यपि पीडकको खोजतलास भइरहेको र चाँडै पक्राउ गरेर थप कारबाही अघि बढाउने उनले जानकारी दिए ।
View : 216
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved