विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले बैंक र उद्योग एउटै घरानाले सञ्चालन गर्ने व्यवस्था हटाउनु जरुरी रहेको बताएका छन् । पिताजी कृष्णप्रसाद स्मृति परिषद्ले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले एउटै घरानाको बैंक, उद्योग र इन्स्योरेन्स कम्पनी हुँदा समस्या देखिएको जिकिर गरे ।
बैंकहरूले ५ प्रतिशत ब्याजदरमा दिने कृषि ऋण वास्तविक कृषकले नपाउने गरेको नेता कोइरालाको भनाइ थियो । ‘सरकारले ५ प्रतिशतमा कृषि ऋण दिने व्यवस्था गरेको छ ।
सामान्य नागरिक १५–२० लाख कृषि ऋण माग्दै गयो भने बैंकले बस्नुहोस् पनि भन्दैन’ कोइरालाले भने, ‘तर १ अर्ब कृषि ऋण माग्दै ठूला उद्योगी गए भने बैंकले सोफामा बसाउँछ, चिया कफी खुवाउँछ अनि ऋण पनि सहजै दिन्छ । तपाईंहरू आफैं विचार गर्नुहोस् त्यो पैसा कृषिमा लगानी हुन्छ कि कहाँ हुन्छ ? अनि कसरी देश बन्छ ? बैंकर्स र उद्योगी एउटै घरानाका व्यक्ति भएसम्म समस्या रहिरन्छ ।’
नेता कोइरालाले कुनै पनि प्रजातान्त्रिक मुलुकमा बैंकर्स र उद्योगी एउटै घरानाको नहुने गरेको जिकिर गरे । अहिले देश अत्यन्तै कठिन अवस्थाबाट गुज्रिरहेको नेता कोइरालाले बताए । उनले मुलुकमा भ्रष्टाचार, दण्डहीनता र कुशासन बढ्दै गएको बताए । मुलुकको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र धार्मिक कुनै पनि क्षेत्र राम्रोसँग नचलेको उनको भनाइ थियो ।
त्यस्तै कोइरालाले राज्य सञ्चालनमा बस्ने व्यक्तिहरूमा केन्द्रिकृत मानसिकताका कारण संघीयता अप्ठ्यारोमा परेको बताए । ‘सम्पूर्ण नेपाली जनताको विद्रोहका कारण देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । तर संघीयताको मर्म र भावनाविपरीत केन्द्रितृत शासन व्यवस्था चलाउँदा संघीयतामाथि प्रहार भइरहेको छ ।
संघीयता खराब हो भन्ने परिरहेको छ,’ उनले भने, ‘हामीले संविधानले दिएको अधिकारलाई तलसम्म ल्याउन सक्यौं भने अहिले संघीयता खारेज गर्नुपर्छ भन्नेहरूले नै संघीयता राम्रो व्यवस्था हो भन्न थाल्नेछन् ।’
उनले भ्रष्टाचार दण्डहीनताले सीमा नाघेको बताए । सरकारको काम प्रभावकारी नहुँदा विकाससमेत सुस्त भएको उनको कथन थियो । ६ महिनामा १६ प्रतिशत मात्रै विकास खर्च हुनु देशका लागि दुर्भाग्य भएको नेता कोइरालाले टिप्पणी गरे ।
कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले संघीयताले प्रदेशलाई ‘जोकर’ बनाएको बताए । उनले प्रजातन्त्रले जनतालाई लाभ दिनुपर्नेमा दुःख दिएको उल्लेख गरे । ‘प्रजातन्त्र भनेको चुनाव गर्ने र सत्तामा पुग्ने मात्रै होइन । वास्तविक प्रजातन्त्रले जनताको जीवनस्तरमा परिवर्तन ल्याउनुपर्छ । विकास दिनुपर्छ ।
सुशासन, कानुनी राज्य दिनुपर्छ,’ उनले थपे, ‘जनताका लागि अझै प्रजातन्त्र आइसकेको छैन । खाली बोल्न पाउने अधिकार मात्रै प्रजातन्त्र होइन । प्रजातन्त्रले जनताको आर्थिक, सामाजिक, राजनीतिक सबै क्षेत्रमा परिवर्तन ल्याउनुपर्छ । अहिले नेताले जितेको र जनताले हारेको प्रजातन्त्र छ । तर प्रजातन्त्रमा जनताको जित हुनुपर्छ । तबमात्रै प्रजातन्त्र र नेता बलिया हुन्छन् ।’
उनले नयाँ संविधानमा धेरै समस्या रहेको टिप्पणी गरे । उनले संविधानमा पुनरावलोकन गर्ने बेला आइसकेको बताए । उनले भने, ‘संविधानलाई च्यात्ने होइन बिग्रिएको ठाउँमा सिलाउने बेला चाहिं भएको छ । नत्र भने देशमा ठूलै विद्रोह हुन सक्छ ।’
कार्यक्रममा विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले कृष्णप्रसाद कोइरालाले देशमा प्रजातन्त्र ल्याउन महत्वपूर्ण योगदान पुर्याएको बताए । उनले राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, शैक्षिक सबै क्षेत्रमा योगदान दिएको उनको भनाइ थियो ।
परिषद्का अध्यक्ष प्राध्यापक कविराज न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, लोकतान्त्रिक कानून व्यवसायी संघका पूर्व केन्द्रीय अध्यक्ष योगेन्द्र अधिकारी, परिषद्का सल्लाहकार सुरेशकुमार शर्मा, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मी, बूढीगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा, नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दीपक चापागाईं, आयोजक संस्थाका महासचिव दिनेशराज सुवेदीलगायतले पिताजी कृष्णप्रसाद कोइरालाको योगदानको चर्चा गरे ।
कार्यक्रममा पूर्वप्रधानन्यायाधी कल्याण श्रेष्ठलाई पिताजी कृष्णप्रसाद स्मृति स्म्मान प्रदान गरिएको थियो । नेता डा कोइराला र आयोजक संस्थाका अध्यक्ष प्रा कविराज न्यौपानेले पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
न्याय क्षेत्रमा रहेको समयमा प्रजातान्त्रिक मूल्य, मान्यता र विधिको शासन स्थापित गर्न महत्वपूर्ण योगदान गरेकाले श्रेष्ठलाई सम्मान गरेको परिषद्ले जनाएको छ ।
View : 344
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved