विराटनगर । आफ्नो पक्षमा नबोलेको आरोपमा ताप्लेजुङका पदम चेन्जी माबोलाई बलपूर्वक मोसो दल्ने आठ जनाको समूहका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानले मंगलबार विहान धरान–८ भोटेपुलबाट सुमन चेम्जोङ पक्राउ गरेको जनाएको छ ।
ताप्लेजुङको पाथीभरा मन्दिर जाने केबलकार निर्माणको पक्षमा बोलेको आरोपमा चेम्जोङसहितको समुहले माबोलाई धरानमा कालोमासो दलेको थियो । उक्त समूहले बलपूर्वक केबलकार निर्माणको विपक्षमा बोल्न बाध्यसमेत पारेको थियो ।
घटनापछि माबोले सोमबार इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिंदै आफुलाई कालोमोसो दल्ने समूहलाई पक्राउ गरी कानुनी कारवाहीको माग गरेका थिए ।
माबोलाई धरान–१५ का दिवस राई, अमर इजम, जेन्टल लावती, शिवहाङ राई, सिर्जना बेघा र विष्णु थाम्देन समेतको समूहले मोसो दलेका थिए ।
घटनापछि उनीहरू भागेका थिए । उनीहरू विरूद्ध पक्राउ पूर्जी जारी भएपछि किरात याक्थुङ चुम्लुङ सुनसरीले मंगलबारसम्म हाजिर गराउने प्रतिवद्धता जनाए पनि उनीहरूलाई सम्पर्कमा नल्याएपछि प्रहरीले खोजी गरी पक्राउ गरेको जनाइएको छ ।
आठैजना विरूद्ध आपराधिक उपद्रो सम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ ।
केबलकार निर्माणको विरोध गर्दै आएको ‘नो केबलकार अभियान’ मा रहेका समूहले माबोलाई मोसो दल्दै हातपात समेत गरेको उजुरी प्राप्त भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक प्रकाश जबेगूले बताए ।
माबोले पाथीभरामा केबलकार बन्दा जिल्लाको विकासमा सहयोग पुग्ने बताउँदै आएका थिए ।
यता केबलकार निर्माणको समर्थनमा मंगलबार ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा र्याली प्रदर्शन भएको जनाइएको छ ।
विकास प्रेमी युवा समाजको नामबाट र्याली निकालिएको जनाइएको छ । उक्त र्यालीमा माबोलगायत केबलकार पक्षधर रहेका व्यक्तिहरू सहभागी भएका छन् । र्यालीलाई फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनसमेतको समर्थन रहेको जनाइएको छ ।
केबलकार विपक्षमा रहेका व्यक्तिहरूले भने मंगलबार नै पाथीभरासम्म पदयात्रा गरेर क्षमा पूजा गरेको जनाइएको छ ।
View : 81
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved