विराटनगर । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा मोरङमा ३०६ वटा मतदान स्थल कायम गरिएको छ । मतदान केन्द्र भने ८८८ रहेको कोशी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए ।
२०७९ सालको आम निर्वाचनमा भन्दा यसपटक मोरङमा ३९ वटा मतदान केन्द्र थपिएको जनाइएको छ ।
एक मतदान केन्द्र बराबर एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन जना कर्मचारी र एक जना कार्यालय सहयोगी रहने व्यवस्था भएको अधिकारीले बताए ।
मोरङमा महिला मतदाताको संख्या ३ लाख ८३ हजार ३५७ र पुरुष मतदाताको संख्या ३ लाख ९९ हजार ६८६ तथा अन्य मतदाता ७ जना रहेको जनाइएको छ ।
जिल्लामा कुल मतदाता ७ लाख ८३ हजार ५० जना कायम भएको निर्वाचन कार्यालयले जनाएको छ । मोरङमा ६ वटा निर्वाचन क्षेत्र छन् ।
निर्वाचन आयोगले नयाँ मतदाता नामावलीमा नाम समावेश गर्न गत कार्तिक १६ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको थियो ।
कार्तिक १६ सम्मको तथ्यांक अनुसार मोरङमा ४१ हजार २९५ जना नयाँ मतदाता थपिएका छन् ।
निर्वाचन कार्यालयका कर्मचारीहरू बिदाको समय तथा अतिरिक्त समयमा पनि निर्वाचन सम्बन्धी कामकाजमा व्यस्त रहँदै आएका छन् ।
शान्तिपूर्ण, भयरहित तथा निष्पक्ष निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी निर्वाचन आयोगमा रहेको छ ।
View : 232
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved