Biratnagar, Morang, Nepal
११ असार २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगर महानगरपालिकाको जेठसम्मको आय ६२ प्रतिशतमात्रै !

उद्‌घोष संवाददाता
११ असार २०८३, बिहिवार

Advertisement

विराटनगर । विराटनगर महानगरपालिकाले चालु आवका लागि ३ अर्ब ६८ करोड २८ लाख २० हजार रूपैयाँ आयको अनुमान गरेको थियो । तर चालु आवको बजेट समिक्षा अनुसार जेठ मसान्तसम्मको यथार्थ आय भने ६२ प्रतिशतमात्रै देखिएको छ ।

चालु आवमा बजेट कार्यन्वयन हुने गरी आम्दानी गर्न असफल महानगरले आगामी आवका लागि भने आम्दानी बढाएर बजेट प्रस्तुत गरेको हो । 

चालु आवको जेठ मसान्तसम्म २ अर्ब २६ करोड ६१ लाख २८ हजार ३१३ रूपैयाँ मात्रै आम्दानी देखिएको छ । यो अनुमानित आयको ६२ प्रतिशत मात्रै हो ।

चालु आवमा आम्दानी नै गर्न नसकेको महानगरले आगामी वर्षका लागि भने आन्तरिक आयसहित विभिन्न स्रोतबाट ३ अर्ब ४६ करोड ५७ लाख रूपैयाँ आम्दानी हुने अनुमान प्रस्तुत गरेको छ ।

चालु आवमा राजस्व बाँडफाँड, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र आन्तरिक स्रोत सबै क्षेत्रमा लक्ष्यअनुसार प्रगति हुन सकेन । सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन करलगायतका स्रोतमा समेत अनुमानभन्दा कम आम्दानी भएको महानगरको बजेट बक्तव्यमा उल्लेख छ ।

प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणतर्फको समानीकरण अनुदानको मात्रै पूरा रकम ३ करोड ६२ लाख ३० हजार प्राप्त भएको छ । सशर्त अनुदानतर्फ अनुमान गरिएको १ करोड ४ लाख ७ हजार रूपैयाँमध्ये ६५ लाख १२ हजार २२० रूपैयाँ मात्रै प्राप्त भएको छ । त्यस्तै पूँजीगत सशर्त अनुदानतर्फ ५ करोड ८८ लाख रूपैयाँँआय हुने अनुमान गरिएकोमा २ करोड १४ लाख ५० हजार रूपैयाँ मात्रै प्राप्त भएको जनाइएको छ ।

राजस्व बाँडफाँडतर्फ पनि महानगरलाई अपेक्षित आम्दानी भएन । सवारी करबाट ३ करोड ८ लाख रूपैयाँ अनुमान गरिएकोमा २ करोड ५९ लाख ४ हजार ८६३ रूपैयाँ प्राप्त भएको छ । मनोरञ्जन करतर्फ ४० लाख अनुमान गरिएकोमा १२ लाख ६१ हजार ९९७ रूपैयाँ र विज्ञापन करतर्फ ६० लाख अनुमान गरिएकोमा २८ लाख ३९ हजार ३ सय ९३ रूपैयाँ मात्रै संकलन भएको छ ।

घरजग्गा रजिष्ट्रेशन दस्तुरबाट २१ करोड १९ लाख ४० हजार १८९ रूपैयाँ, मूल्य अभिवृद्धि करतर्फ ११ करोड ९८ लाख ६९ हजार ३ सय ८७ रूपैयाँ र अन्तःशुल्कबाट ५ करोड ६३ लाख ३६ हजार ९ सय रूपैयाँ प्राप्त भएको उल्लेख छ ।

यता बैंक मौज्दाततर्फ भने १४ करोड अनुमान गरिएकोमा १४ करोड ९९ लाख २ हजार ५१ रूपैयाँ रहेको महानगरले जनाएको छ ।

View : 34

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved