विराटनगर । विराटनगरको बजारमा बिहीबार सुनको मूल्य १ लाख ५६ हजार १ सय थियो । अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा प्रति तोला ६ सय रूपैयाँ घटेको हो । अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मूल्य केही खस्किएपछि सुनको मूल्य बढेको हो । तर विराटनगरको बजारमा सुनको किनबेच भने शून्य बराबर छ ।
विराटनगरका सुनचाँदी व्यवसायीका अनुसार लगनको बेलामा विराटनगरका बजारमा प्रतिदिन डेढ किलोदेखि दुई किलो सुनको माग हुन्छ । यति बेला दिनको आधा किलो पनि बिक्री हुँदैन । सबै सुनचाँदी व्यवसायी हात बाँधेर बस्न बाध्य छन् ।
सुनको भन्सार दरबन्दी १५ प्रतिशत रहेकोमा सरकारले चालु आर्थिक वर्षदेखि भन्सार दरबन्दी ५ प्रतिशत बढाएर २० प्रतिशत पुर्याएको छ । जसका कारण वैध सुन बजारमा बिक्री हुनै छाड्यो ।
गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष ०८१–८२ को बजेट ल्याउँदा सुनमा भन्सार दरबन्दी बढाएका हुन् । भन्सार दरबन्दीले गर्दा सुन महँगो हुन गएकाले वैध सुन बिक्री नहुने भन्दै नेपाल सुनचाँदी व्यवसायी महासंघ र रत्न आभूषण व्यवसायी महासंघले पनि भन्सार दरबन्दी घटाउन सरकारलाई आग्रह गर्यो । सरकारले दरबन्दी घटाएको छैन ।
भन्सार दरबन्दी बढाएर २० प्रतिशत पुर्याएपछि सुन प्रति तोला सरदर ६ हजार रूपैयाँ महंगो भएको छ । भारत सरकारले भन्सार दरबन्दी १२ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झार्यो । नेपालमा भने बढाइयो । भारतीय बजारमा अवैध सुनको बिक्री बढेपछि त्यहाँको सरकारले सुनको अवैध व्यापार घटाउन दरबन्दी घटाएको हो । नेपालमा भने उल्टै बढाएर सुन तस्करीलाई बढावा दिइएको छ ।
मोरङमा सय जति सुनचाँदी व्यवसायी छन् । अहिले सबैको व्यापार सुकेको छ । धेरैले व्यवसाय नै बन्द गर्ने अवस्थामा पुगेका छन् ।
सुन चाँदीको मूल्य घटबढ हुने विषयले आम नागरिकलाई प्रत्यक्ष रूपमा केही असर पुर्याएको देखिदैन । तर त्यसले अन्तर्राष्ट्रिय मूल्य वृद्धिमा भने प्रत्यक्ष असर पारेको हुन्छ ।
सुनको मूल्य बढ्नुको कारणमा डलरको भाउ केही घट्नु, बैंकको निक्षेप व्याजदर घट्नु, सुनको सञ्चिति गर्ने प्रवृत्ति बढ्नु आदि कारण हो भनिन्छ ।
विभिन्न मुलुकमा भैरहेको युद्धका कारण व्यावसायिक लगानी घटेकाले पनि सुनको खरिद बढेर मूल्य बढेको बताइन्छ । जे कारणले मूल्य बढे पनि हालको सुनको मूल्य ऐतिहासिक कीर्तिमान हो ।
सुनको मूल्य प्रति तोला १ लाख ५७ हजारसम्म पुगेको छ ।
View : 197
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved