विराटनगर । सरकारसँग नौ बुँदे सम्झौता गरेर शिक्षक आन्दोलन टुंगिएपछि सामुदायिक विद्यालयहरूले धमाधम प्रवेश परीक्षाको तालिका सार्वजनिक गर्दै विद्यार्थी भर्ना सुरु गरेका छन् ।
विराटनगरका ठूला सामुदायिक विद्यालयहरूले बिहीबार नै सूचनामार्फत प्रवेश परीक्षाको कार्यक्रम सार्वजनिक गर्दै विद्यालयको नियमित पठनपाठन सुरु गर्ने तयारी अघि बढाएका हुन् ।
शिक्षक आन्दोलन चलिरहेकै समयमा कक्षा २ देखि ९ सम्मको नियमित प्रवेश परीक्षा लिएको विराटनगर–३ स्थित पोखरिया माध्यमिक विद्यालयले कक्षा–९ को प्राविधिक धार तर्फको कम्प्युटर इन्जिनियरिङको प्रवेश परीक्षा बैशाख २० गते शनिबारका लागि तोकेको छ ।
विद्यालयले बैशाख २६ गते शुक्रबारसम्म विद्यार्थीहरूलाई विद्यालयमा भर्ना गराइसक्न अभिभावक र विद्यार्थीहरूलाई आग्रह गरेको छ ।
विद्यार्थी भर्ना सकिएपछि मात्रै विद्यालयको नियमित पठनपाठन सुरु गर्ने तयारी रहेको विद्यालय प्रशासनले जनाएको छ ।
धेरै विद्यार्थी संख्या रहेको विराटनगर–७ स्थित आदर्श माध्यमिक विद्यालयले शैक्षिक आन्दोलन स्थगित भएको भन्दै पूर्व बालविकास कक्षा र कक्षा ४ देखि ९ सम्मको प्रवेश परीक्षा बैशाख २२ गते सोमबारका लागि तोकेको छ ।
विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले प्रवेश परीक्षाका लागि फारम लिन छुटेका विद्यार्थीले आउँदो आइतबारसम्म फारम भरिसक्नुपर्ने बताए ।
उनले नयाँ भर्ना हुने विद्यार्थी बाहेक नियमित विद्यार्थीहरूका लागि नियमित पठनपाठन सुरु गरिसकेको जानकारी दिए ।
विराटनगर–७ कै सत्यनारायण माविले बैशाख २४ गते बुधबारबाट कक्षा ६ देखि १० सम्मको विहानी कक्षा र कक्षा ३ देखि १० सम्मको अंग्रेजी माध्यमको कक्षाहरू सञ्चालन हुने सूचनामार्फत जनाएको छ ।
विद्यालयले शिक्षक आन्दोलनका कारण स्थगित भएको नयाँ भर्ना (अंग्रेजी माध्यम र नेपाली माध्यम) प्रवेश परीक्षा भने बैशाख २१ गते आइतबार गर्ने भएको छ ।
नयाँ भर्नाका लागि शनिबार बेलुका ४ बजेसम्म भर्ना फारम वितरण हुने विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम गुरागाईंले बताए ।
विराटनगर–१६ स्थित मिल्स माध्यमिक विद्यालयले भर्ना भइसकेका नियमित विद्यार्थीलाई शनिबार पाठ्यपुस्तक वितरण गरिने जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक विन्दुकुमार लावतीले नयाँ भर्नाका लागि बैशाख २३ गते मंगलबार प्रवेश परीक्षाको तालिका तोकिएको बताए ।
View : 94
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved