विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कार्यालय परिसरभित्र जल्नबाट जोगिएको एउटा सटरमा कुर्सी टेबुल राखेर आइतबारदेखि सेवा सूचारु गरेका छन् ।
सरकारी क्वाटरमा राखिएको कोट र लगाउने लुगा समेत लुटपाट र आगजनी भएका कारण शनिबार नयाँ सेतो सर्ट सिलाएर सरकारी पोषाक लगाउनु परेको बाध्यता सुनाउँदै प्रजिअ यादवले सिडियो कार्यालय पूर्ण रुपमा जलेको जानकारी दिए ।
कार्यालय परिसरमा रहेको सभा हल पूर्ण रुपमा जलेका कारण प्रजिअ यादवले आइतबार बोलाएको कार्यालय प्रमुखहरूको मोरङ उद्योग व्यापार संघको कार्यालयमा सम्पन्न गरिएको जानकारी दिए ।
जेनजी प्रदर्शनका क्रममा भइको सार्वजनिक र निजी सम्पतिको क्षतिका कारण कार्यालयको सेवा प्रवाह अवरुद्ध भएको जानकारी दिंदै कम्तिमा जनजीवनलाई सामान्य पार्दै अघि बढ्न कार्यालय प्रमुखहरूको बैठक आयोजना गरिएको बताए ।
‘आफ्नो सेवा सूचारु गर्न सक्ने अवस्थाका कार्यालयले तुरुन्तै सेवा सुचारु गरेर जनजीवनलाई सामान्य पार्ने निर्णय गरेका छौं’ प्रजिअ यादवले भने, ‘सेवा सूचारु गर्ने अवस्था छैन भने त्यसको सूचनामार्फत सर्वसाधारणलाई जानकारी गराउन सवै कार्यालय प्रमुखबीच सहमति भएको छ ।’
बैठकले आफ्नो सेवाबाट अर्को कार्यालयले सेवा दिनुपर्ने अवस्थामा भने माथिल्लो कार्यालय बन्द रहेको अवस्थामा त्यस्तो कार्यालयबाट हुने सेवा प्रवाहलाई बन्द गर्ने निर्णय गरेको छ । प्रजिअ यादवले अहिले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लगायतका कुनैपनि सामान्य सेवा पनि दिन नसक्ने अवस्था रहेकोले वडा कार्यालयलाई नागरिकता बनाउने सिफारिस नगर्न आग्रह गरिएको बताए ।
‘बैठक आयोजना गर्ने स्थल नपाएर हामीले मोरङ उद्योग व्यापार संघको हलमा बैठक आयोजना गरेका छौं, जिल्ला प्रशासन कार्यालयको सवै संरचना डढेर ध्वस्त भएको छ’ प्रजिअ यादवले भने, ‘बैठकबाट कम्तिमा छिटो सवैसँगको समन्वयमा जलेका सम्पतिको मुचुल्का गर्ने र त्यसमा प्रहरीको समेत संलग्नता राख्ने निर्णय भएको छ, मुचुल्का बनेपछि भएको क्षतिको मुल्याकंन गर्न गठित क्षति मूल्यांकन समितिले मुल्यमा रुपान्तरण गर्नेछ र क्षतिको वास्तविक क्षतिको विवरण आउने छ ।’
मोरङमा संघ र प्रदेशस्तरका प्राय सवै कार्यालयहरूमा आगजनी भएको छ । व्यक्तिको घरमा भाडामा बसेका केही कार्यालय, एकान्तमा रहेका कार्यालय मात्रै बचेका छन् । केही कार्यालय प्रमुखहरूले भने प्रदर्शनकारीको टार्गेटबाट बच्न कार्यालयको बोर्ड निकालेर लुकाएका कारण आगजनी हुनबाट जोगिएको जनाइएको छ ।
बचे तीन वटा स्थानीय तहका कार्यालय
प्रदर्शनकारीको तोडफोड आगजनीका बिच मोरङका तीनवटा स्थानीय तहका कार्यालय भने जोगिएका छन् ।
बैठकमा सहभागी भएका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको रिपोर्ट अनुसार कटहरी गाउँपालिका, रतुवामाई नगरपालिका र बुढीगंगा गाउँपालिकाको कार्यालयमा भने तोडफोड हुन नपाएको जनाइएको छ । नत्र अधिकांश स्थानीय तहको कार्यालय र वडा कार्यालयहरूमा तोडफोड आगजनी भएको जनाइएको छ ।
जिल्लामा भएको क्षतिबारे छलफल गर्न सोमबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठक आयोजना गरिएको प्रजिअ यादवले बताए ।
उक्त बैठकमा सवै स्थानीय तहका प्रमुखसँगको उपस्थिति हुने र विपद्जन्य तथा आकस्मिक घटना भएकोले सेवा व्यवस्थापनबारे योजना बनाइने जनाइएको छ ।
View : 2093
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved