Biratnagar, Morang, Nepal
१८ माघ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

चुहार जिप दुर्घटना अपडेट

आठ जनाको मृत्यु, नौ गम्भीर (नामावलीसहित)

उद्‌घोष सम्वाददाता
१ चैत २०८०, बिहिवार

Advertisement

विराटनगर । उदयपुरको बेलका नगरपालिका– ७ पाखाबुवामा बोलेर जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ९ जना घाईते भएका छन् । 

सुनसरीको धरानबाट भोजपुरको घोडेटारतर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो बिहीबार बिहान ११ बजे मैनामैनीमा सडकबाट खसेर दुर्घटना भएको थियो । 

दुर्घटनामा परी बोलेरो चालक भोजपुरको हतुवागढी गाउँपालिका–२ का ४० वर्षीय मान बहादुर बस्नेतसहित आठ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

मृत्यु भएका मध्ये ७ जनाको घटनास्थलै र एक जनाको उपचारको क्रममा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

चालक बस्नेतसहित भोजपुरको हतुवागढी–२ का चन्द्रप्रकाश राई र पर्वत माया राई, हतुवागढी–५ की रामकुमारी राई (ममता), इटहरीका कमल अधिकारी, सुनसरीको वराहक्षेत्र–३ का पदम बहादुर थापा र हतुवागढी–२ का ६ महिनाको शिशु निशान राई रहेका छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । 

हतुवागढी गाउँपालिका–५ का ४२ बर्षीय किसान राईको भने उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जनाइएको छ ।

दुर्घटनामा ६ जना पुरुष र ३ जना महिला गरी ९ जना घाईते भएका छन् ।

घाईते हुनेहरुमा मोरङको कानेपोखरीका १) विशेष पराजुली, हतुवागढी–२ की शान्तिकला राई, हतुवागढी–९ की गायत्री थापा कटवाल (रमा), हतुवागढी–९ कै ७ वर्षीया निकिता कटवाल रहेका छन् । त्यसैगरी ठेगाना नखुलेकी  सावित्रा राई, मेनू राई, सबिना परियार, सुनिल परियार र कुलबुङ राई समेत घाइते भएका छन् ।

घाइते सबैलाई उपचारका लागि धरान पठाइएको जनाइएको छ ।

बोलेरो जिप उदयपुर र भोजपुर जोड्ने चुहार पुल पुग्न अघिको ओरालोमा कच्ची सडकमा दुर्घटना भएको स्थानीयले जानकारी दिए ।

दुर्घटनास्थलबाट खसेको जिप सडकको चारवटा मोडहरूमाथिबाट उछिट्टिएर करिव चार सय मिटर तल खसेको थियो ।

दुर्घटनास्थलबाट धेरै तल जिप खसेको र केही यात्रुहरू मात्रै उछिट्टिएको अवस्थामा भिरबाट उद्दार गरिएको थियो ।

जिपभित्र रहेका अरु यात्रुहरू भने सोही जिपले थिचिएका र चेपिएका कारण उद्दारमा समस्या भएको उद्दारमा संलग्न प्रत्यक्षदर्शीहरूले बताए ।

घाइतेहरूलाई चुहारस्थित मोटरवेल पुल निर्माण कार्यमा खटिएका मजदुर र स्थानीयको सहयोगमा उद्धार गरेर कोशी नदीमा चल्ने मोटरबोटमा हालेर उपचारका लागि धरान पठाइएको थियो ।

मृत्यु भएका अधिकांश यात्रु भोजपुरको हतुवागढीका बासिन्दा रहेका छन् । जिपमा चालकसहित १७ जना यात्रु रहेको जनाइएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

View : 895

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved