प्रेस चौतारी नेपालको दशौं महाधिवेशन
गणेश पाण्डे
विराटनगर । नेकपा एमालेनिकट प्रेस चौतारी नेपालको दशौं महाधिवेशन सोमबार गणेश पाण्डेलाई अध्यक्ष घोषणा गर्दै सम्पन्न हुने अन्तिम तयारीमा छ । अध्यक्षका अर्का दावेदार राजेश राईलाई उम्मेदवार नै बन्न नदिई पाण्डे अध्यक्ष रहेको केन्द्रीय समिति घोषणा गर्न लागिएको हो । पार्टी स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र राजेन्द्र गौतमसहितको अध्यक्षमण्डलले पाण्डे चौतारीको दशौं अधिवेशनबाट अध्यक्ष भएको घोषणा अहिले बन्दसत्रको हलमा गरिरहेका छन् ।
उपाध्यक्षमा चेतन अधिकारी र कृपा भण्डारी, महासचिव हिरामान लामा, उपमहासचिव हरिवल्लभ नेपाल, सचिवहरूमा विक्रम लुईंटेल, विष्णु तारुके, नरेश भण्डारी र प्रदीप आचार्यका नामवली घोषणा हुने चौतारीकै एक निवर्तमान पदाधिकारीले जानकारी दिए ।
यसअघि नेतृत्व चयन चुनावी पक्रियाबाट हुनपर्ने माग गर्दै प्रतिनिधिहरूले हस्ताक्षर अभियान सुरु गरेका थिए । तर प्रतिनिधिहरूको मागको कुनै सम्बोधन नगरी एकपक्षीय रुपमा नेतृत्वको घोषणा गरिएको प्रतिनिधिहरूले गुनासो गरेका छन् । मोरङबाट अधिवेशन प्रतिनिधि रहेका किशोर बुढाथोकीले गोजीको मान्छेको संरक्षण गर्ने चक्करमा प्रतिनिधिको भावना नबुझेको गुनासो गरेका छन् । उनले तत्कालै सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘ गोजीका मान्छेको संरक्षण गर्ने चक्करमा प्रतिनिधिको भावना नबुझ्ने । मताधिकारबाट वञ्चित गर्ने, प्रतिनिधिलाई रुवाउने । यो त अति भयो ।’
उनीसहित बहुमत प्रतिनिधिले चुनावको माग राख्दै हस्ताक्षर अभियान चलाएका थिए । तर उनीहरूको अभियान र मागको कुनै सुनवाई भएन । प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशन आइतबारदेखि विराटनगरमा सुरु भएको हो । महाधिवेशन सोमबार नयाँ नेतृत्वको घोषणा गर्दै सम्पन्न भएको छ ।
View : 315
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved